२०८३ असोज २३ गते शुक्रबार

प्राविधिक शिक्षालाई श्रम बजारसँग जोड्न पोखरामा ‘एक नमुना’ मोडल

प्राविधिक शिक्षालाई श्रम बजारसँग जोड्न पोखरामा ‘एक नमुना’ मोडल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ५ गते शुक्रबार ०२:५५

पोखरा प्राविधिक शिक्षा र तालिमलाई श्रम बजारसँग जोड्न पोखरामा एक नमुना मोडेलको अभ्यासको गरिएको छ । आईल्याब पोखरा टोलीेले ६ महिना लगाएर पोखरामा तालिम र श्रम बजारलाई जोड्न नमुना मोडलको अभ्यास गरेको हो । टोलीले पोखरामा शुक्रबार...

पोखरा

प्राविधिक शिक्षा र तालिमलाई श्रम बजारसँग जोड्न पोखरामा एक नमुना मोडेलको अभ्यासको गरिएको छ ।

आईल्याब पोखरा टोलीेले ६ महिना लगाएर पोखरामा तालिम र श्रम बजारलाई जोड्न नमुना मोडलको अभ्यास गरेको हो ।

टोलीले पोखरामा शुक्रबार हस्टिपटालिटि (आतिथ्य सत्कार) उद्योगमा गरेको अभ्यास र त्यसबाट प्राप्त नतिजाबारे सरोकारवालासँग छलफल गरेको थियो ।

छलफलमा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले प्राविधिक शिक्षालाई स्थानीय सरकार र श्रम बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

उनले युवा समुदायलाई प्राविधिक शिक्षातर्फ लोभ्याउन स्थानीय सरकारले योजना ल्याउनुपर्ने बताए ।

उनले आईल्याब टोलीको नमुना अभ्यासलाई गाउँपालिकाले अवलम्बन गर्न सक्ने अवसर रहेको सुनाए ।

मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले दुई विद्यालयमा प्राविधिक शिक्षा ल्याउने योजना रहेको बताइन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी प्रमुख दामोदर देवकोटाले प्राविधिक शिक्षा र तालिमको अधिकार सिटीइभिटिलाई भएको भन्दै प्रदेश, स्थानीय सरकारले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकास तथा स्वाथ्य मन्त्रालय गण्डकीका उपसचिव तोयानाथ लम्सालले प्राविधिक शिक्षा र तालिमका लागि संघ, प्रदेश र स्थानीय तहमा नै वित्तिय र अधिकार बाँडफाँड भएपनि समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

उनले प्राविधिक शिक्षामा युवालाई आकर्षण गर्न चुकिरहेको सुनाउँदै प्राविधिक शिक्षा, तालिम र श्रमबजारको सम्बन्ध सुदृढ गराउनुपर्नेमा जोड दिए ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका निर्देशक सोमनाथ सापकोटाले प्राविधिक शिक्षाका लागि प्रदेश सरकारको नेतृत्वमा प्रतिष्ठानको सुरुआत भएको बताउँदै प्रदेश स्तरमा यसलाई सुदृढ गर्दै लैजानुपर्ने बताए ।

उनले श्रमबजार, उद्योगसँगको सहकार्य र समन्वय फितलो रहेको अवस्थामा आईल्याब टोलीको प्रयास पृथक रहेको जनाए ।

पोखरा महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विकासलाई प्रविधिसँग नजोडिन्जेलसम्म प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्र सुदृढ हुन नसक्ने बताए ।

उनले तीनै तहको सरकार जनतालाई सीप र सेवा दिने विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

होटल एशोसियशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले श्रमबजारमा दक्ष जनशक्तिको माग उच्च भएतापनि युवा विदेशिने क्रम बढी भएकाले माग पूरा हुन नसकेको बताए ।

तालिम लिएर विदेश जाने तर नेपालमा बसेर काम गर्ने इच्छा र अवस्था युवमा नदेखिएकाले यसका सरोकारवालाले समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्राविधिक शिक्षा र व्यवसायिक तालिम क्षेत्रको सुदृढीकरण

पोखरा पर्यटनको केन्द्र भएको र यहाँ पर्यटन उद्योग तथा होटल व्यवसायको विकास सँगै रोजगारीको प्रशस्त संभावना भएकोले होटल व्यवसायका लागि माग अनुरुपको दक्ष जनशक्ति उत्पादान, श्रम बजारमा स्थानान्तरण र सम्बन्धित पेशामा कामदारलाई टिकाउनका निमित्त यो मोडेल केन्द्रित रहेको टोली प्रमुख अनिल पौडेलले जानकारी दिए ।

यस नमुना मोडेलमा पोखराका १२ होटलहरुको आवश्यकता र मागमा आधारित रहेर होटल ब्यवसायमा काम गर्न इच्छुक २५ जना विपन्न वर्गका युवाहरुका लागि तालिम प्रदान गरिएको हो ।

जसमा ३–महिने तालिम दिने, राईट फर चिल्ड्रेनले युवाहरुको पहिचान तथा छनौट गर्ने र तालिमलाई प्रायोजन गर्ने, गेट भोकेशनल फ्याब स्कुलले छनोट भएका प्रशिक्षार्थीका लागि तालिम प्रदान गर्ने र होटलहरुले ३–महिने तालिम पुरा गरेका प्रशिक्षार्थीहरुलाई थप ३ महिनाको कार्य प्रशिक्षण र सो पश्चात १ वर्षे प्रारम्भिक रोजगारीको अवसर प्रदान गर्ने गरि सम्झौता गरिएको टोली सदस्य विवेक पौडेलले बताए ।

त्यसै गरि उक्त तालिमको लागि छनौट भएका युवा र तिनका अभिभावकसँग पनि सम्झौता गरिएको उनले जानकारी दिए । हाल तालिम प्रशिक्षार्थी ३–महिने कार्यप्रशिक्षणका लागि होटल व्यवसायमा छन् ।

व्यवसायिक शिक्षा र श्रमबजार बिचको सम्बन्धलाई सुदृढ र सुमधुर बनाएर तालिम प्राप्त जनशक्तिलाई सम्बन्धित क्षेत्रमा रोजगारी सुनिश्चित गरि सोही पेशाामा दीर्घकालीन रुपमा स्थापित गराउने मुद्दा लिएर टोलीले लिएको अर्का टोली सदस्य सरिता अधिकारीले बताइन् ।

इम्प्लीमेन्टेसन ल्याव (आई–ल्याव) अर्थात शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन र स्विस महासघंको आर्थिक सहयोगमा सञ्चालित क्वालिटी परियोजनाको ब्याकस्टपिङ्ग र लर्निङ्ग कार्यक्रम अन्र्तगत चेयर अफ एजुकेशन सिस्टम इटिएच् जुरिकका विचमा संयुक्त रुपमा गठित एक सिकाई तथा छलफल केन्द्र हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सुधार सम्बन्धि प्रस्तावित का लागि गरिएको खुला आव्हान व्यापाक प्रतिस्पर्धाबाट नेपालभरका ७ टोली छनोट भएका थिए ।

जसअन्तरगत गण्डकीको प्रतिनिधित्व गर्दै आईल्याब पोखराको टोलीले सो मुद्दामा काम गरेको टोली प्रमुख पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति २०८० माघ ५ गते शुक्रबार ०२:५५
हजुरको प्रतिक्रिया