पोखरा ।
२३औं आहा रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।
आयोजकले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार ९ माघमा पोखरा रंगशालमा सहारा र थ्रीस्टारबीच पहिलो खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगिता खेल्न यसअघि भारतको दिल्ली एफसी आउने भनिएपनि अन्तिम समयमा नआउने भएको छ । उसको सट्टा नेपालकै विभागीय टोली एपीएफले भाग लिने भएको छ । सहारा क्लब पोखराले ‘ड्र’ गरेको टाइसिटमा दिल्ली एफसीको स्थानमा एपिएफ क्लबलाई स्थान दिइएको हो ।
भुटानको लिग च्याम्पियन पारो एफसी प्रतियोगिताको एक मात्र विदेशी टिम हुनेछ । प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहने छ ।
यहि माघ ९ देखि २० गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा १२ टिम सहभागि हुने यस अघि नै आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु संकटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लबको रुपमा रहेको मनाङ मर्स्याङदी क्लव, जावलाखेल यूथ क्लब र थ्रि स्टारको सहभागिता हुने छ भने विभागिय क्लब नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लबको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।
प्रतियोगिता अन्तर्गत माघ १० गते त्रिभुवन आर्मी फुटबल क्लब र राइजिंग स्टार फुटबल क्लबको सामना गर्नेछ भने माघ ११ गते मछिन्द्र क्लब र जावलाखेल युथ क्लबका विच माघ १२ गते एपीएफ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुनेछन् ।
माघ १३ गते हुने पहिलो क्वाटर फाइनलमा पारो फुटबल क्लब भुटानले माघ ९ को बिजेता टोली संग भिड्ने छ । माघ १४ गते सोझै क्वाटर फाइनलमा प्रवेश गरेको संकटा क्लब र माघ १० गते खेलको बिजेताका बिच हुनेछ । त्यस्तै तेश्रो क्वाटरफाइनल मनाङ मर्स्याङ्दी क्लब र माघ ११ गतेको बिजेता टोलीका बिच तथा चौथो क्वाटरफाइनलमा चर्ज व्वाईज युनाइटेड फुटबल क्लबले माध १२ गतेको प्रिक्वाटरको बिजेता टोलीको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनल खेल माघ १७ गते हुनेछ भने दोश्रो सेमीफाइनल माघ १८ गते सञ्चालन हुनेछ । नकआउट फर्म्याटमा हुने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।
प्रतियोगिताको विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८० माघ ६ गते शनिबार ०९:०१




