२०८३ साउन २१ गते बिहीबार

ब्युँतियो बागलुङको इमेज सहकारी, नयाँ अध्यक्ष बने कृष्णबहादुर सार्की

ब्युँतियो बागलुङको इमेज सहकारी, नयाँ अध्यक्ष बने कृष्णबहादुर सार्की

डम्मर बुढामगर

@Public 4K Tv

२०८० माघ ६ गते शनिबार ०८:५७

डेढ अर्ब बढी रकम भुक्तान नगरी देवकुमारसहित मुख्य जिम्मेवार सञ्चालकहरु फरार भएपछि शेयर सदस्यहरुले सहकारीलाई जीवन्तता दिनका लागि निरन्तर प्रयास गर्दै आएका थिए ।

विशेष भेलाले आठ महिनादेखि बन्द सहकारीलाई ब्युँताए

बागलुङ/बचतकर्ता तथा शेयर सदस्यले इमेज बचत तथा ऋण सहकारी संस्थालाई ब्युँताएका छन् ।

गत जेठ ५ गते संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीसहितको टिम सम्पर्कविहीन भएपछि सहकारी बन्द भएको थियो । विशेष भेलाले आठ महिनादेखि बन्द सहकारीलाई ब्युँताएका हुन् ।

शनिबार भएको विशेष साधारण सभाले कृष्णबहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति र हरिबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा बालकुमारी केसी, सचिवमा सीता केसी, कोषाध्यक्षमा सरिता तिमिल्सिना कंडेल तथा सदस्यहरुमा गुप्तबहादुर खत्री, कृष्णा कार्की र अजिजउल मिया छन् ।

लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा कुलबहादुर राना र गोमा विश्वकर्मा छन् । विशेष साधारणसभाले इमेज सहकारीलाई वैधानिक रुपमा अगाडि बढाउनका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्नुका साथै सम्पत्ति दायित्वको एकीन गरी पीडितहरुको बचत रकम फिर्ताका लागि समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ४ मा संस्थाको सञ्चालक वा व्यवस्थापकबाट आफ्नो जिम्मेवारी पूरा नगरी संस्था सञ्चालनमा समस्या उन्पन्न भएको अवस्थामा दर्ता अधिकारीलाई जानकारी दिई साधारण सदस्यहरु मध्येबाट बहुमत सदस्य उपस्थित भइ विशेष साधारणसभा गर्न सकिने व्यवस्था गरेको छ ।

पीडित बचतकर्ताहरुले गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, सहकारी रजिष्ट्रार भेषराज रिजाल समेतको उपस्थितिमा पुस १३ गते गरेको छलफलका आधारमा सदस्यहरुका तर्फबाट विशेष साधारणसभा बोलाइएको पीडित सदस्यहरुले जनाएका छन् ।

बचतकर्ताको डेढ अर्ब बढी रकम भुक्तान नगरी इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित मुख्य जिम्मेवार सञ्चालकहरु फरार भएपछि शेयर सदस्यहरुले सहकारीलाई जीवन्तता दिनका लागि निरन्तर प्रयास गर्दै आएका थिए ।

देव कुमार नेपालीको नाममा रहेको सम्पती बैंकमा राखेर लिएको ऋण तिर्न बैंकले लिलामी प्रक्रिया अगाडि बढाएपछि पीडितहरुले संस्था ब्युँताएर समस्या समाधान गर्न बैंकहरुसंग समेत छलफल गरिएको इमेज बचत संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए ।

 

प्रकाशित मिति २०८० माघ ६ गते शनिबार ०८:५७
हजुरको प्रतिक्रिया