‘सिनेमा संवाद’ टाेलीकाे सिक्लेसमा भव्य स्वागत
सिक्लेस
चलचित्र पत्रकार संघ, कास्कीको आयोजनामा सनिबारदेखि कास्कीकाे पर्यटकीय गाउँ सिक्लेसमा आयाेजित ‘सिनेमा संवाद’ नामक कार्यक्रममा सहभागी हुन सिक्लेसकाे सभाथर पुगेका चलचित्रकर्मी एवं पत्रकारहरूकाे स्थानीयले भव्य स्वागत गरेका छन् ।
सोमबारसम्म चल्ने कार्यक्रमका लागि काठमाडौं र पाेखराबाट ७५ जना फिल्मीकर्मी, साहित्यकार र पत्रकारहरू सिक्लेस आइपुगेका हुन् ।
पोखरा भेला भएर यात्रारत टाेली झम्के साँझमा मात्रै सिक्लेस पुगेकाे थियाे ।
सिक्लेस पुगेको टोलीलाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरे ।

सिक्लेसमा भेला भएका फिल्मकर्मी तथा पत्रकारहरूलाइ स्वागत गर्दै मादी गाउँपालिका-१ का वडाअध्यक्ष देवीजंग गुरूङले अहिलेसम्म् ठूलाे पर्दामा नसमेटिएकाे पर्यटकीय गाउँ सिक्लेसमा याे कार्यक्रमका माध्यमले सम्भावनाकाे ढाेका खाेलेकाे उल्लेख गरे ।
‘ देश, विदेशमा चर्चित पर्यटकीय गाउँ भएर पनि अहिलेसम्म नेपाली सिनेमामा समेटिन नसकेकाे याे गाउँमा चलचित्र विकास बाेर्डका अध्यक्षसहितकाे टाेली उपस्थित हुनु सुखद् संयाेग हाे,’ उनले भने, ‘सिक्लेसकाे पर्यटन प्रवर्धनमा चलचित्र पत्रकार संघ कास्कीकाे याेगदान यादगार रहनेछ ।’

स्वागत समाराेहमा स्थानीय क्लब, आमा समूह, हाेमस्टे, विद्यालय व्यवस्थापन समिति र हाेटल व्यवसायीका प्रतिनिधीहरूले टेलिभिजन र चलचित्रकाे पर्दामा देखेका कलाकारलाई प्रत्यक्ष देख्न र भेट्न पाउँदा अत्यन्त खुसी लागेकाे बताए ।
उनीहरूले बरू जापान, जर्मन र अमेरिकाबाट पर्यटक आएकाे तर मुलधारका भनिएका ठूलाे पर्दाका नेपाली फिल्ममा सिक्लेस नआएकाेमा दुखेसाे पाेखे ।
‘कस्ता कस्ता गाउँले फिल्ममा स्थान पाए, तर सिक्लेसमा कुनैपनि फिल्म सुटिङ गर्न आएनन्, अब भुवन केसीनै आएपछि त हुन्छ कि !’ एक स्थानीयले टाेलीमा विकास वाेर्डका अध्यक्ष र निर्माता निर्देशककाे टाेली देखेपछि विश्वास् व्यक्त गरे ।

टोलीले सोमबारसम्म सिक्लेसमा रहेर विभिन्न विषयमा अन्तरक्रिया गर्नेछ ।
टाेलीले सिक्लेसकाे सभाथरमा विभिन्न शिर्षकमा आधारि रहेर ४ वटा विषयमाथि अन्तरक्रिया कार्यक्रम गर्ने संघका अध्यक्ष प्रभु अधिकारीले बताए ।
कार्यक्रममा ‘सिनेमा र सरकार : हिजो, आज र भोलि’,सेसनकाे चर्चित प्रस्ताेता प्रकास सुवेदीले सहजिकरण गर्नेछन् भने वक्ताकाे रूपमा चलचित्र विकास वाेर्डका अध्यक्ष भुवन केसी, निर्देशक, निर्माता एवं कलाकार आकास अधिकारी, चरित्र अभिनेत्री तथा निर्देशक दीपाश्री निराैला छन् ।
कार्यक्रमकाे दाेस्राे सेसनमा सिनेमा स्वकथन, विचार : व्यावसाय र कला : प्रविधि र प्रवृतिमाथि प्रकाश सायमीले बाेल्नेछन् ।
यस्तै, कार्यक्रमकाे अर्काे महत्वपूर्ण सेसनमा ‘नेपाली सिनेमाकाे स्वाद : कस्ताे छ ? कस्ताे हुनुपर्छ ? विषयमाथि निर्देशक मनाेज पण्डित, अभिनेता, निर्देशक अनुप बराल, अभिनेत्री दिया मास्केले बाेल्नेछन् भने सहजिकरण सिने पत्रकार सुरज सुवेदीले गर्नेछन् ।

कार्यक्रमकाे अन्तिम सेसनका रूपमा ‘सिनेमा भित्र म, म भित्र सिनेमा’ विषयमाथि अनुभव राख्नका लागि अभिनेत्री गाैरी मल्ल र अभिनेता भुवन केसी तम्तयार रहेकाे संघका सचिव सन्ताेष बस्यालले बताए ।
याे सेसनकाे सहजीकरण सञ्चारकर्मी सञ्जाेग बस्यालले गर्नेछन् ।
कार्यक्रमका सबै सेसनकाे प्रत्यक्ष प्रशारण पब्लिक फाेरके टेलिभिजनले गर्नेछ ।
हजुरको प्रतिक्रिया




