बाग्लुङ ।
पञ्चेबाजा बजाउने प्रचलन घट्दै गएपछि बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी यसको संरक्षणमा जुटेका छन् ।
त्रिभुवन माविमा कक्षा २ देखि १० सम्मका विद्यार्थीले पढाइसँगै अतिरिक्त क्रियाकलापमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गरिराखेका छन् । उनले बिदाको समयमा आफैं विद्यार्थीलाई बजा बजाउन सिकाइरहेका छन् ।
पछिल्लो समय गाउँमा बाजा बजाउनेको संख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ । बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताइन् । सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ । अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेको उनको भनाइ छ ।
प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा संकलन अभियान सुरु गरेको जानकारी दिए । अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उनको भनाइ छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको भन्दै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताए ।
विद्यालयमा बाजा बजाउने अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन् । मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन् । बाजाका सट्टा ठूला–ठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बजाइने गरिएको छ ।
प्रकाशित मिति २०८० माघ ९ गते मंगलबार ११:४७




