२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा फरार मेयरबाहेक २२९ जनाले गरे मतदान, आजै विजयी घोषणा

गण्डकीमा फरार मेयरबाहेक २२९ जनाले गरे मतदान, आजै विजयी घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ११ गते बिहीबार ०४:३१

मतभारको अंकगणितअनुसार गण्डकीमा गठबन्धनको जीत सुनिश्चित छ

पोखरा
राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपालीबाहेक सबैले मतदान गरेका छन् । ढोरपाटनका मेयर नेपाली इमेज सहकारी ठगी काण्डमा गत जेठ ५ गतेदेखि फरार छन् ।

निर्वाचन कार्यालय गण्डकीका अनुसार नेपालीबाहेक बाँकी २२९ जनाले मतदान गरेका छन् । १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको गण्डकी प्रदेशबाट १ सय ७० जना मतदाता छन् । प्रदेश सभातर्फ ६० जना सदस्य छन् । स्थानीय तहतर्फ मतभार कुल ३ हजार २३० छ । प्रदेश सभातर्फ ३ हजार १८० मतभार छ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी कुल ६ हजार ४१० कुल मतभार गण्डकीमा छ ।

प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख/उपप्रमुखको १९ मतभार तोकिएको छ । गण्डकीमा गठबन्धनबाट कांग्रेसका अन्यमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगतातर्फ तनहुँका पदमबहादुर परियार र माओवादीबाट महिलातर्फ पर्वतकी मनरुपा शर्मा उम्मेदवार छन् ।

एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता÷अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् । गण्डकीमा २ जना प्रदेश सभामात्रै रहेको राप्रपाले पनि २ सिटमा उम्मेदवार उठाएको छ । राप्रपाबाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवार छन् ।

मतभारको अंकगणितअनुसार गण्डकीमा गठबन्धनको जीत सुनिश्चित छ । आजै विजयी घोषणा गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति २०८० माघ ११ गते बिहीबार ०४:३१
हजुरको प्रतिक्रिया