अफगानिस्तान १४५ रनमा अल आउट
पाेखरा ।
तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङ मद्दतमा नेपालले यू–१९ विश्वकपमा अफगानिस्तानलाई १४५ रनमा अल आउट गरेको छ । नेपाल, जारी प्रतियाेगिताकाे सुपर सिक्स सपनाबाट अब केवल १४६ रनको दुरिमा छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानलाई ४०.१ ओभरमा मात्र १४५ रनमा अल आउट गर्न नेपाली बलरहरूले शानदार प्रदर्शन गरे ।
अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाउनु बाहेक अन्य अफगानी ब्याट्सम्यानहरूले संझनलायक प्रदर्शन गर्न सकेनन् ।
एक समय २०.३ ओभरमा ८८/८ को अवस्थामा रहेकाे अफगानिस्तानका लागि नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गर्दैै १५० रन कटाएका थिए । नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए ।
नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए ।
नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।
गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
१४६ रनकाे जवाफी लक्ष्यका साथ नेपाल केहि समयमा मैदान उत्रनेछ।
प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०५:३१




