पोखरा
पोखरामा भएको अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सकिएको छ ।
पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीले स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गरेको थियो ।
साहित्यकार, गीतकार, निर्देशक प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गीय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रमको सुरुआत गरे ।
त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिएका हुन् ।
करिब २ घण्टासम्म चलेको कार्यक्रममा हार्मोनीका अध्यक्ष ईतु जोजिजुले अरुणा लामाको ‘तिम्रो माया पथ्थरको झुक्याउने रुप जस्तो, तारादेवीको ‘तिम्रो नाम अझै छ ओठमा’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौषम तिमीलाई’, रजनी रिदम राईले अरुणा लामाको चौतारीमा बसेर रुन पाउ, तारादेवीको मनको निश्चलतामा, मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा भएर बोकि हेर’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिएका थिए ।
शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको ‘एक फुल झरेर के भो’, अजुदा थापाले अरुणा लामाको ‘कल कल सल सल र तारादेवीको आउन आउ तिम्रो खुसी’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर गाएकी थिइन् ।
कार्यक्रमको अन्त्यमा लक्ष्मी गिरीसहितका गायिकाहरुले गायिकाद्वयका चर्चुत गीतहरुको मिड्ले (गीतका छोटा छोटा प्याकेज प्रस्तुति) प्रस्तुत गरि बिट मारेका थिए ।
अघिल्लो वर्षदेखि सुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै सहआयाेजकसमेत रहेकाे एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण भएको थियो ।
प्रकाशित मिति २०८० माघ १४ गते आइतबार ०७:००




