२०८३ असोज २३ गते शुक्रबार

समाचार

सूर्यदर्शन प्रकरणमा जीवीसहितलाई डिफ्यूजन नोटिस जारी भएसँगै बचतकर्तामा आशा

सूर्यदर्शन प्रकरणमा जीवीसहितलाई डिफ्यूजन नोटिस जारी भएसँगै बचतकर्तामा आशा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १५ गते सोमबार ०७:५७

अर्ब ११ करोड हिनामिना गरेको आरोप सूर्यदर्शन सहकारीका १९ जनामाथि छ

महेन्द्र भोटे र अनुज नकर्मीले थुनामुक्ता हुन दिएको रिट खारेज

पोखरा

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीवीराईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएसँगै बचतकर्तामा आशा पलाएको छ ।

जीवीसहित ३ जनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले डिफ्यूजन नोटिस जारी गरेसँगै अब उनीहरु पनि समातिने आशा बचतकर्तामा पलाएको हो ।

बचतकर्ताले गत माघ १३ गते उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेर सञ्चालक समाएर कानुनी दायरामा ल्याउन माग गरेका थिए ।

गृहमन्त्री श्रेष्ठले उनीलाई समाउनका लागि अन्तरार्ष्ट्रिय प्रहरी संगठनकै सहयोग लिइएको र कोही पनि दोषि उक्किन नपाउने आश्वासन दिएका थिए ।

अहिले नोटिस जारी भएसँगै पीडामा रहेका बचतकर्ता अब दोषी समातिने र ढिलाचाँडो न्याय पाउनेमा आशावादी रहेको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

यता सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र फरार अनुज नकर्मीले थुनामुक्ता भएर मुद्दा लड्नका लागि दिएको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ ।

न्यायाधिश अमृतबहादुर बस्नेत र राजकुमार खतिवडाको इजलासले सो रिट खारेजको फैसला गरेका थिए । उनीहरुले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाका विरुद्धमा असोज ४ गते रिट हाल्दै थुनामुक्त भएर मुद्धा लड्न पाउनुपर्ने माग गर्दै रिट हालेका थिए ।

सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक महेन्द्र भोटे पुस १७ गते अदालतमा उपस्थित भएका थिए भने जिल्ला अदालत कास्कीले १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् ।

सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित १५ जना अझै फरार छन् ।

१ अर्ब ११ करोड हिनामिना गरेको आरोप सूर्यदर्शन सहकारीका १९ जनामाथि छ ।

प्रकाशित मिति २०८० माघ १५ गते सोमबार ०७:५७
हजुरको प्रतिक्रिया