पोखरा
पोखरामा पुन हिल कप खुला भलिबल प्रतियोगिता सुरु भएको छ । पुन समाज नेपालको आयोजनामा पोखराको रामघाटमा प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको हो ।
सोमबारदेखि सुरु प्रतियोगितामा प्रौढतर्फ २ खेल भएका छन् । आयोजक पुन समाज नेपाल र लामाचौर पुन समाजले सुखद सुरुआत गरेका छन् ।
उद्घाटन खेलमा पुन समाज नेपालले ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा पुन समाजले २५–१८ को जित निकाल्यो । दोस्रो सेटमा ढुंगेपाटनले २५–२१ को जित निकाल्दै पुनरागमनको प्रयास गरेपनि अन्तिम सेट १४–२५ ले आयोजक पुन समाजलाई सुम्पदै प्रतियोगिताबाट बाहिरियो ।
दोस्रो खेलमा लामाचौर पुन समाजले रामबजार पुन समाजलाई २–० को सोझो सेटमा हराएको छ । पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१८ को जित निकाल्दै लामाचौर अघिल्लो चरण प्रवेश गरेको छ ।
पुन दिवस माघ १५ को अवसरमा आयोजित प्रतियोगितामा मंगलबार प्रौढ र महिलातर्फको क्बलस्तरीय खेल हुनेछन् ।

प्रतियोगितामा क्लबस्तरीय पुरुषतर्फ १८, महिलातर्फ १५ र प्रौढतर्फ १२ टोली सहभागी छन् ।
माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
पुनका अनुसार महिलातर्फको विजतोले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
४० वर्ष माथि उमेरको प्रौढ भलिबलको विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
प्रकाशित मिति २०८० माघ १५ गते सोमबार ०८:५५




