पोखरा
चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
मंगलबारको अन्तिम क्वार्टरफाइनलमा चर्चले आहारारामा सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइजका लागि समिर तामाङले गरेको गोल निर्णायक बन्यो । समिरले खेलको ७२ औं मिनेटमा गोल गरेका हुन् ।
पुलिसका गोल रक्षक शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकले गरेको गल्तीलाई अवसरको रुपमा सदुयोग गर्दै समिरले गोल गरे ।
२२ औं संस्करणमा पनि पुलिस चर्चसँग क्वार्टरफाइनलमै पराजित भएको थियो ।
चर्चले सेमिफाइन यात्रा तय गरेसँगै समिकरणसमेत पूरा भएको छ ।
चर्चसँगै थ्रीस्टार क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले सेमिफाइनल यात्रा तय गरेका छन् ।
पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टारसँग जावलाखेलको फाइनल यात्रामा पुग्न प्रतिस्पर्धा हुनेछ ।
बिहीबार आर्मी र चर्चले प्रतिस्पर्धा गर्नेछन् ।
यो पटक भुटानको लिग च्याम्पियन पारो एफसीसहित १२ समूहको सहभागिता रहेको थियो ।
मोफसलको राइजिङ स्टार क्लबले पनि पहिलो सहभागिता जनाएको थियो ।
साहरा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
उपाधि विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछन् ।
प्रकाशित मिति २०८० माघ १६ गते मंगलबार ०७:४५




