२०८३ असोज २४ गते शनिबार

पुन हिल कप भलिबलः प्रौढतर्फ पोखरा र सिद्धिकाली फाइनलमा

पुन हिल कप भलिबलः प्रौढतर्फ पोखरा र सिद्धिकाली फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १७ गते बुधबार ०७:३६

४० बर्षमाथिको खेलमा पोखरा भेट्रान्स र सिद्धिकाली भेट्रान्सले फाइनलमा स्थान बनाएका हुन् ।

पोखरा

पोखराको रामघाटमा जारी प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ फाइनल खेल्ने टोलीको छिनोफानो भएको छ ।

४० बर्षमाथिको खेलमा पोखरा भेट्रान्स र सिद्धिकाली भेट्रान्सले फाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेमिफाइनलमा आयोजक पुन समाज नेपाललाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पोखरा भेट्रान्सले फाइनल यात्रा तय गरेको छ ।

पहिलो सेटमा २५–१८ को जित निकालेको पोखराले दोस्रो सेटमा झनै फराकिलो २५–७ को जित निकाल्न सफल भयो । तेस्रो सेटमा २५–१६ को जित निकाल्दै फाइनल यात्रा तय गरेको छ ।

दोस्रो सेमिफाइनलमा सिद्धिकाली भेट्रान्सले रामबजार भेट्रान्सलाई ३–० को सोझो सेटमा हराउदै पोखरा भेट्रान्ससँगको फाइनल भिडन्त तय गरेको छ ।

पहिलो सेटमा २५–२०, दोस्रो सेटमा २६–२४ र तेस्रो सेटमा २५–२३ को जित दर्ता गराउँदै सिद्धिकाली उपाधि होडमा पुगेको हो ।

१२ समूह सहभागी भएको प्रौढ भलिबलको ४० वर्षमाथि उमेर समूहको विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

बुधबार महिलातर्फको ३ खेल भएका छन् । कावासोती नवलपुर र माछापुच्छ्रे गाउँपालिका भलिबलसंघ सेमिफाइनल प्रवेश गरेका छन् ।
समूह ‘ए’ मा सिधैं बाइ पाएर क्वार्टरफाइनल प्रवेश गरेका कावासोती नवलपुर र मध्यनेपाल लमजुङबीच खेल भएको थियो । मध्यनेपाललाई २–० को सोझो सेटमा पराजित गर्दै कावासोती सेमिफाइनल प्रवेश गरेको हो ।

समूह ‘बि’ मा बाइ पाएका लेभल अप र माछापुच्छ्रे गाउँपालिकाबीच खेल भएको थियो । माछापुच्छ्रेले पनि लेभल अपलाई २–० को सोझो सेटमा पराजित ग¥यो ।

पुन क्बल पोखरालाई २–१ को सेटमा हराउँदै कार्पकेली पुन समाज एक्लेखेत तनहुँ विजयी भएको छ । बाग्लुङ बडिगाडलाई अर्गुमले वाकओभर दिएसँगै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

अब बडिगाड र कार्पकेलीबीचको बिजेताले सेमिफाइनलमा माछापुच्छ्रेसँग खेल्नेछ ।

आयोजक पुन समाज नेपाल र ढुंगेपाटन पुन समाजबीचको विजेताले सेमिफाइनलमा कावासोतीको सामना गर्नेछ ।

यो विधाको विजेतालाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।

पुरुषतर्फको एक खेल भएको छ । भुकदेउराली पर्वतले छन्त्याल समाज ‘ए’ लाई २–१ को सेटमा पराजित गर्दैै अघिल्लो चरण प्रवेश गरेको छ । पुरुषतर्फ १८ टोली सहभागी छन् ।

विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए ।
उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

फाइनल खेल शुक्रबार हुनेछ । पुन समाज नेपालले आयोजना गरेको प्रतियोगिताका खेल रामघाटस्थित पुन समाजको खेल मैदानमा भइरहेको छ ।

प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०७:३६
हजुरको प्रतिक्रिया