२०८३ साउन २१ गते बिहीबार

१३ औं बगर भाइखलक भेट्रान फुटबल माघ २१ गतेदेखि, ३६ टिम सहभागी हुने

१३ औं बगर भाइखलक भेट्रान फुटबल माघ २१ गतेदेखि, ३६ टिम सहभागी हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १८ गते बिहीबार ०१:१४

पोखरा बगर भाइ खलकले बर्सेनि आयोजना गर्दै आएको ‘अन्तर्राष्ट्रिय बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता’को १३ औं संस्करण माघ २१ गतेदेखि हुने भएको छ । माघ २७ गतेसम्म चल्ने उक्त प्रतियोगितामा भारतका २ सहित ३६ टिम सहभागी हुने संस्थाका...

वरिष्ठ फुटबल प्रशिक्षक सम्भु केसीलाई सम्मान गरिने

पोखरा
बगर भाइ खलकले बर्सेनि आयोजना गर्दै आएको ‘अन्तर्राष्ट्रिय बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता’को १३ औं संस्करण माघ २१ गतेदेखि हुने भएको छ ।

माघ २७ गतेसम्म चल्ने उक्त प्रतियोगितामा भारतका २ सहित ३६ टिम सहभागी हुने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

२०२८ देखि पोखराको टुँडिखेल मैदानमा निरन्तर हुँदै आएको प्रतियोगितामा यसपटक ४०, ५० र ६० वर्षमाथि उमेर समूहमा खेल हुने गुरुङले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि सहभागी हुँदैछन् ।

मनाङे ५० वर्षमाथिको उमेर समूहमा कैलाली जिल्लाको टिमबाट सहभागी हुन लागेका हुन् ।

‘माननीयज्युले सुरुमा ठमेलको टिम ल्याउने भन्नुभएको थियो । तर, ठमेलमा ५० वर्षमाथिको उमेर समूहको टिम नपुगेपछि उहाँ कैलालीको टिमबाट आउनुहुने भएको हो,’ गुरुङले भने ।

प्रतियोगितामा भारतको २ टिमसहित, कास्की, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागी हुने बगर भाइ खलकका महासचिव यामबहादुर गुरुङले जानकारी दिए ।

४० वर्षमाथि उमेर समूहमा २३ टिम, ५० वर्षमाथिको उमेर समूहमा ९ टिम र ६० उमेर समूहभन्दा माथि४ टिम सहभागी हुने आयोजकले जनाएको छ ।

‘यसलाई हामीले प्रतियोगिताभन्दा पनि हाम्रो स्वास्थ्यसँग जोडेका छौं । कुनैबेला ४० वर्षमाथि पनि फुटबल खेल्छन् र ? भन्ने थियो । तर, अहिले हामीले त्यसलाई बदल्न सकेका छौं,’ गुरुङले भने ।

प्रतियोगितामा ४० वर्षमाथि उमेर समूहको विजेताले २ लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

५० वर्षमाथि उमेर समूहमा विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने ६० वर्ष उमेर समूहमाथिका विजेताले ५० र उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् ।

सम्भु केसीलाई सम्मान गरिने

प्रतियोगिताको अवसरमा संस्थाले राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक सम्भु केसीलाई सम्मान गर्ने भएको छ ।

केसी हाल वरिष्ठ फुटबल प्रशिक्षक हुन् ।

फुटबल खेल विकासमा विशेष योगदान दिएवापत हरेक वर्ष संस्थाले एकजनालाई सम्मान गर्दै आरहेको छ ।

संस्थाले २०६८ देखि फुटबलको विकासमा योगदान दिएकाहरुलाई २०६८ देखि सम्मान गर्न थालेको हो ।

 

प्रकाशित मिति २०८० माघ १८ गते बिहीबार ०१:१४
हजुरको प्रतिक्रिया