याे सरकार पुरै भ्रस्टाचारमा लिप्त भयाे- पूर्वमन्त्री यज्ञबहादुर थापा
पाेखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।
सरकार भ्रष्ट्राचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । काँग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दैछन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दै छन् । अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा रहेका छन् ।
यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा.रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।
वाइडबडी, ओम्नीकाण्डले नपुगेर सरकारले कोभिडको सामानमा पनि लुट्याे- पूर्वमन्त्री यज्ञबहादुर थापा
नेपाली कांग्रेस कास्कीका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले कम्युनिष्टहरु भ्रष्टाचारमा लिप्त भएको बताएका छन् ।
कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोधसभा गर्ने क्रममा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।
‘भ्रष्टाचार पहिले पनि हुन्थ्यो तर हजारमा सुनिन्थ्यो’ उनले भने ‘अहिले खर्बमा सुनिन्छ ।’ वाइडबडी, ओम्नीकाण्डमा लुटेर सरकाले कोभिडको सामानमा पनि लुट्न नछाडेको भन्दै उनले आक्रोश पोखे ।
‘कम्युनिष्टले चुनाव जितेर सोच्यो होला अब हामी आरामले खान्छौं’ उत्तेजक मुद्रामा उनले भने ‘अब कांग्रेस जागेको छ कम्युनिष्टले ल्याएको भोट जति त हामी सडकमा मान्छे उतार्छौ ।’ प्रतिपक्षको आवाज सुन्न गाह्रो भएपनि आफ्नै सचिवालय र कार्यकर्ताको प्रश्नसमेत सुन्न नसक्ने सरकार स्पष्टतः सर्वसत्तावादको बाटोमा अघि बढेकोे उनको अभिव्यक्ति छ ।
अहिले जति लुटेपनि, भ्रष्टाचार गरेपनि ०७९ को निर्वाचनमा जितेर कानून संशोधन गर्दै भ्रष्टलाई कार्वाही गरेरै छाड्ने उनले उद्घोष गरे ।
यसअघि विपिचोकबाट सुरु भएको र्याली पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको छ भने केही समयमा पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति २०७७ मंसिर २९ गते सोमबार ०३:०१




