देवकुमारले वकिलमार्फत गर्छन् बचतकर्तासँग छलफल
पोखरा
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाटसमेत निजी घरजग्गा, जमिन जोडेको बताएका छन् ।
मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घरजग्ग किनेको स्वीकार्दै आफूसँग बचतकर्ताको रकम फिर्ता गर्न नगद नरहेको बताएका हुन् ।
गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । फेरि मंगलबार घर र जग्गाको विवरणसमेत सार्वजनिक गर्दै सबै बचतकर्ताको जिम्मा लगाउन चाहेको उल्लेख गरेका छन् ।
निजी रकम र सहकारीका शेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बंैकहरुवाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेको उनको भनाइ छ । त्यो सबै सम्पत्ति पीडित सदस्य बचतकर्ताहरुको जिम्मा लगाउन चाहेको नेपालीले बताएका छन्
सहकारीमा बचत गर्ने सदस्यहरुको बचत रकम फिर्ताको ग्यारेन्टी गर्न पूर्णरुपमा प्रतिवद्ध रहेको नेपालीले बताएका छन् । घरजग्गाहरु बिक्री वितरण गरेर प्राप्त हुने रकमबाट बैंकहरुबाट लिएको ऋण भुक्तान गरी सदस्य बचतकर्ताहरुको बचत फिर्तां गर्ने कुरामा साथ दिनले अपिल गरेका छन् ।
बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ ।
दोस्रो पटक नेपालीले फेरि घरजग्गा सार्वजनिक गर्नुको कारण चाहिँ के हो त ? पोखरा र बागलुङको समेत इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले भने, ‘अघिल्लो पटकको विज्ञप्तिमा यो मेरो निजी सम्पत्ति हो भनेका थिए भने यसपटकको विज्ञप्तिमा सहकारीको बचतरकमबाटसमेत किनेको बताएका छन् ।’
मंसिर ५ गते भिडियो र विज्ञप्तिमार्फत मेयर नेपालीले आफू र श्रीमतीको नाममा आफ्नै पैसाले घरजग्गा जोडेको बताएपछि सहकारीको रकम कहाँ छ त त्यसो भए भनेर बचतकर्ताले प्रतिवाद गरेका थिए । अहिले बचतकर्तालाई विश्वास दिलाउने गरी सहकारीको रकमबाटसमेत घरजग्गा किनेको र त्यो बचतकर्तालाई सुम्पिन तयार गरेको सार्वजनिक गरेका हुन् ।
मेयर नेपालीका तर्फबाट बचतकर्तासँग अधिवक्ता नानीबाबु बुढाथोकीले सहजीकरण गरिरहेका छन् । उनले नेपालीलाई हिसाब मिलान गराउने वातावरण बनाइदिन आग्रह गर्दै बुढाथोकीले भने मुताबिक नै बचतकर्ताले गरिरहेका छन् । पीडितहरुलाई एकीकृत गर्नकै लागि पोखरा र बागलुङका सबै बचतकर्ताको एउटै संयुक्त संघर्ष समिति बनाइएको छ ।
बागलुङमा प्रधान कार्यालय रहेको इमेजले गलकोट र बुर्तिबाङबाट सेवा कार्यालयको नाममा आर्थिक कारोबार गर्दै आएको थियो भने पोखरामा सोही नामको छुट्टै सहकारी दर्ता गराएका थिए । नेपालीको सम्पत्ति बैंकहरुले लिलामी प्रक्रिया अगाडि बढाएपछि त्यो गुम्न नदिनकै लागि भन्दै सञ्चालक समिति नै ब्युँताइएको छ ।
३५ करोडको लागि सवा २ अर्बको रकम लिलाम हुन लागेको भन्दै सहकारीकै नाममा सम्पत्ति ल्याउने भन्दै समिति ब्युँताइए पनि अदालतमै मुद्धा विचारधीन रहेको र मुख्य आरोपी फरार नै रहेकाले केही गर्न सक्ने अवस्था भने छैन । नेपालीले सम्पत्ति सुम्पिन चाहान्छु भने पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी छ भने रेडकर्नर नोटिससमेत जारी भइसकेको छ ।
‘उनी पक्राउ नपरी कुनै पनि समस्याको समाधान हुँदैन । अदालतमा उपस्थित त हुनैपर्छ । त्यसपछि अदालतको आदेशबमोजिक अगाडि बढ्ने कुरा हो,’ गण्डकी प्रदेश प्रहरी प्रमुख विकासराज खनालले भने, ‘उनले कहाँबाट कसरी फेसबुक चलाएका छन् भन्ने प्राविधिक जाँच पनि गर्दैछौं । उनको खोजी कार्य छ ।’
प्रकाशित मिति २०८० माघ २४ गते बुधबार १०:०४




