पाेखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । जस अन्तर्गत पाेखरामा पनि नेपाली कांग्रेसकाे विराेध सभा जारी छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेकाे दुइ तिहाइकाे सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाएका छन् । पोखरामा भएको प्रदर्शनपछि आयोजित सभालाई सम्वोधन गर्दै नेता केसीले सरकार एकदलीय पद्धतिबाट सञ्चालन भएको आरोप लगाए ।
कम्युनिष्टबाट लोकतन्त्र संरक्षण हुन नसक्ने भन्दै उनले यसका विरुद्ध सबै जनता सडकमा आउन आवश्यक रहेको बताए । सरकार एकपछि अर्को लोकतन्त्र विरोधी गतिविधि गर्न उद्धत रहेको आरोप लगाउँदै नेता केसीले कम्युनिष्टबाट लोकतन्त्र संरक्षण र सुदृद्ध हुन्छ भन्नु दिवा स्वप्नमात्र भएको बताए ।
प्रदर्शनमा सहभागी पार्टीका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले सरकारलाई गरिव जनताको भविष्यमाथि खेलवाड नगर्न दवाव दिन सडकमा उत्रिएको बताए ।

उनले अहिलेको सरकारका गतिविधिलाई सच्याउन आवश्यक देखिएको भन्दै नेता रानाभाटले नेपालको भूराजनीतिक अवस्था निकै संवेदनशील भएको आरोप लगाए ।
नेपाली कांग्रेस नेता खेमराज पौडेलले सरकार सही मार्गमा नहिंडिकन पथभ्रष्ट भएकाले कांग्रेस सडकमा आउन बाध्य भएको बताए । जनताको सपना विपरीत सरकारले गतिविधि सञ्चालन गरेकाले सच्याउनका लागि दवाव दिइएको उनले स्पष्ट पारे ।
कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले कांग्रेसको यो आन्दोलन शुरुआत मात्र भएको भन्दै आगामी दिनमा पनि चरणवद्ध ढंगले आन्दोलन अघि बढाउने चेतावनी दिइन् । उनले सरकारको गलत रवैया सच्याउनका लागि दवाव दिने उद्धेश्यले प्रदर्शन गर्न लागिएको बताइन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले सरकारको अधिनायकवादी चरित्रका कारण जनतालाई सास्ती भएको भन्दै त्यसलाई सच्याउन आन्दोलन आवश्यक भएको बताए ।
प्रकाशित मिति २०७७ मंसिर २९ गते सोमबार ०३:२५




