२०८३ असोज २४ गते शनिबार

एसीसी वुमन्स प्रिमियर कप: नेपालद्वारा हङकङ ८ विकेटले पराजित

एसीसी वुमन्स प्रिमियर कप: नेपालद्वारा हङकङ ८ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २७ गते शनिबार १०:४७

नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र ३ चौकासहित ४० रनको योगदान गरिन् ।

पोखरा ।

एसीसी वुमन्स प्रिमियर कप–२०२४ को पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराउँदै सुखद् सुरुआत गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटाएको हो ।

नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र ३ चौकासहित ४० रनको योगदान गरिन् ।

सीता रानामगर एक छक्का र एक चौकासहित ३६ रनमा अविजित रहिन् भने कविता कुँवरले ४ रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चानका मन बेट्टीले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकलले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको थियो ।

हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान दुई÷दुई, पुजा महतो र सीता रानामगरले एक÷एक विकेट लिए ।

१६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् ।

सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

प्रकाशित मिति २०८० माघ २७ गते शनिबार १०:४७
हजुरको प्रतिक्रिया