पोखरा
पोखरामा शनिबार ह्विलचियर दौड र दृष्टिविहीन दौड भएको छ । १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत यी दुई विधामा दौड भएको हो ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको ह्विल चेयर दौडमा पुरुषतर्फ १ हजार ८०० मिटरतर्फ सुरेशकुमार विजेता बनेका छन् ।
उनले ७ मिनेट ४१ सेकेण्डमा दूरी पार गर्दै विजेता बनेका हुन् ।
भरत अधिकारीले ७ मिनेट ५७ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो र ध्रुव परियारले ८ मिनेट २४ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे ।
महिला ह्विलचियरतर्फ १ हजार मिटरको दूरीमा दौड भएको थियो । काठमाडाैंकी ऐश्वर्याकुमारी कुमालले ४ मिनेट ९ सकेण्डमा दौड पूरा गरेर च्याम्पियन बनिन् ।
काठमाडाैंकी पेमा छोक्पा गुरुङले ४ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान हासिल गरेकी छन् । पोखराकी अञ्जु बराल तेस्रो भइन् ।
उनले दूरी ६ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पूरा गरेकी थिइन् ।
१०० मिटर दूरीमा दृष्टिविहीन दौड भएको थियो ।
पुरुषतर्फ आशिष खड्गीले विजेता बने । वीरेन्द्र लामिछाने दोस्रो र टुल्का डाँगीले तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ विनिता पुन विजेता बनिन् । सिर्जना परियार दोस्रो र माया गौतमले तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
ह्विलचियर र दृष्टिविहीन दौडको विजेताले १० हजार रुपैयाँ हात पारेका छन् । दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
ह्विलचियर दौडका विजेतासँगै दोस्रो र तेस्रोले १÷१ थान ह्विलचियर उपहार पाएका छन् ।
दृष्टिविहिन दौडका विजेतासँगै दोस्रो र तेस्रो हुनेले सेती छडी पाए । अन्तर्राष्ट्रिय म्याराथन भने फागुन ५ गते हुनेछ ।
म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिलातर्फ हाफ म्याराथन २१ किलोमिटर, १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा र रन फर फनमा झन्डै १० हजार बढी धावक दौडने आयोजकको दाबी छ ।
प्रकाशित मिति २०८० माघ २८ गते आइतबार १०:५९




