२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय लोक–संस्कृति पुरस्कार डा. खनाललाई

राष्ट्रिय लोक–संस्कृति पुरस्कार डा. खनाललाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २९ गते सोमबार ११:३८

उनले नेपालका १०० भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक प्रोफाइल तयार गरेका छन् ।

धनगढी ।

ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री– कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ ।

कैलाली जनपुस्तकालय धनगढीको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो निर्णय गरेको हो ।

पुस्तकालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आगामी फागुन सात गते आयोजना हुने समारोहमा सो पुरस्कारबाट डा.खनाललाई सम्मानित गरिने कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए ।

समाजसेवी साबित्री साहू र उनका पति कमलसिंह साहूले अक्षयकोष स्थापना गरि उक्त पुरस्कारको स्थापना गरेका हुन् । पुरस्कारको राशि नगद, दोसल्ला र अभिनन्दनपत्र रहेको छ ।

लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित गरिदै आएको अध्यक्ष डा.जोशीले बताए ।

पुरस्कृत हुने प्रतिभा डा. खनालले लोकगीतमा विद्यावारिधि गर्नुका साथै लोकसंस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा लामोसमयदेखि विशेष योगदान पुर्याउदै आएका छन् ।

उनले नेपालका १०० भन्दा बढी जातजातिका जातीय संस्कृतिको अनुसन्धान गरेर सांस्कृतिक प्रोफाइल तयार गरेका छन् ।

डा. खनालले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड तथा विभिन्न स्थानीय तहहरूसंघको सहकार्यमा अनुसन्धानको काम गरिरहेका छन् ।

यसका साथै स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उनको निरन्तर सक्रियता रही आएको छ ।

प्रकाशित मिति २०८० माघ २९ गते सोमबार ११:३८
हजुरको प्रतिक्रिया