२०८३ असोज २४ गते शनिबार

६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित पोखराबाट पक्राउ

६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित पोखराबाट पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २ गते बुधबार ११:११

थप अनुसन्धानका लागि पक्राउ परेको भौमिकलाई बुधबार राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाउने प्रहरीको तयारी छ ।

६ केजी चाँदी र ६२ लाख नगद पनि बरामद

पोखरा ।

स्रोत नखुलेको ठूलो परिणाममा सुन चाँदीका गरगहना र नगदसहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको पश्चिम बंगाल मेदिनिपूर दासपूर–११ घर भइ हाल पोखराको मोहोरिया टोलमा भाडाको घरमा बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोमबार साँझ उनको डेरामा छापा मार्दा नगद ६२ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

स्रोत नखुलेको रकमसहित पक्राउ गरेको भौमिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप सुन चाँदी पनि फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

‘सुरुमा घरभेटीको कोठा भनियो । पछि अनुसन्धान गर्दा भौमिकै कोठा भएको खुुल्यो । कोठामा छापा मार्दा स्रोत नखुल्ने सुन चाँदीको गहन भेटियो’, एसपी थापाले भने ।

भौमिकको साथबाट ५ केजी २२ ग्राम सुनका गरगहना, ९९९.ग्राम काँचो सुनको बिस्कुट र अर्को ५० ग्रामको सुनको ढिक्का फेला परेको एसपी थापाले जानकारी दिए ।

उनको साथबाट गरगहन र काँचो सुन गरेर ६ केजी ६९ ग्राम बरामद भएको हो ।

एसपी थापाका अनुसार ६ केजी चाँदी पनि बरामद भएको छ । झन्डै ६० लाख रुपैयाँ बराबरको १३ थान विभिन्न बैंकका चेक, मोबाइल १ थान, भारतीय आधार कार्ड १ थान, २ थान डायरी र ७ थान रजिष्ट्ररसमेत बरामद भएको छ ।

बरामद भएको सुन चाँदीका गरगहना र नगद झोलामा लुकाइरहेको अवस्थामा भेटेको मंगलबार साँझ पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

भौमिकले मोहोरिया टोलमा कविन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिएर सुनचाँदीका गरगहना बनाउने काम गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

अवैध सुन ल्याएर गरगहना बेचविखन गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको हो । उनीसँग सुनचाँदीका गरगहना बनाउने १० जना बढी कालिगढ कार्यरत रहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि पक्राउ परेको भौमिकलाई बुधबार राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाउने प्रहरीको तयारी छ ।

‘हामीले जति पनि सुनका गरगहना, चाँदी बरामद गरेका छौं । त्यसको स्रोत उहाँले अहिलेसम्म खुलाउन सकेको अवस्था छैन ।

अब यसमा थप अनुसन्धान राजस्व अनुसन्धान विगाभले गर्छ’, एसपी थापाले भने, ‘अनुुसन्धान गर्दाखेरी अन्य व्यत्तिहरुको पनि मिलेमतो देखियो भने अरु व्यक्ति पनि तानिने सम्भावना हुन्छ ।

उहाँले स्रोत देखाउनुभयो भने त्यही अनुसार निर्णय होला । अहिले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउछौं ।’

प्रकाशित मिति २०८० फागुन २ गते बुधबार ११:११

हजुरको प्रतिक्रिया