२०८३ साउन २१ गते बिहीबार

कला/साहित्य

राजनीति र साहित्यको अन्तिम ध्येय समृद्ध समाजको निर्माण हो

राजनीति र साहित्यको अन्तिम ध्येय समृद्ध समाजको निर्माण हो

सुरेन्द्रराज पाण्डे

@Public 4K Tv

२०८० फागुन ३ गते बिहीबार ०६:३३

पञ्चायतकालमा पनि घुमाइ फिराई साहित्यक रचनामार्फत् शासक र शासनको विरोध भइरह्यो । अहिले हामी राजनीतिकर्मी साहित्यक र पत्रकारिता जगतबाट सत्य र बस्तुनिष्ठ आलोचनात्मक प्रतिक्रिया चाहान्छौं

साहित्यिक सिर्जनासँग शासकहरु तर्सन्थे

सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिट्रेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको रहेछ । अहिले पोखराले यो फेस्टिवलाई एउटा आफ्नै उत्सव, आफ्नो पहिचान सहितको महोत्सवको रुपमा लिन थालिसकेको छ । प्रदेश सरकार, स्थानीय सरकार र अन्य थुप्रै अर्गनाईजेशनसँगको सहकार्यमा सम्पन्न हुने यो फेस्टिवल पर्यटकीय राजधानी पोखराको पहिचान बनेको छ ।

अनुभव, ज्ञान, सिप बाँड्ने एउटा थलोको रुपमा बिकास भईरहेको यो साहित्यीक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गरेका छ नै यहाँ समेटिएका विषयहरु, सञ्चालन हुने सेसनहरु, अतिथिहरुका कारण वौद्धिक, साहित्यीक, राजनीतिक, शैक्षिक, व्यापारी, व्यवशायीक व्यक्तित्व देखि सर्वसाधारण नागरिकलाई पनि आकर्षित गर्न सफल भएको छ ।

सांस्कृतिक गतिविधिले हरेक नागरिकमा सदभाव सिर्जना गर्दछ । त्यसैको प्रभाव पर्यटकममा पर्न जान्छ र पोखरा अन्तर्राष्ट्रियस्तरमा अझ परिचित हुन जान्छ ।

सांस्कृतिक विविधतासहितको सामाजिक ऐक्यवद्धता महत्वपूर्ण पक्ष हो । राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि यहाँका सांस्कृतिक गतिविधिहरुले विशेष योगदान पु¥याएको हुन्छ । आर्थिक गतिविधि र पर्यटकीय चहलपहल सँगै सांस्कृतीक गतिविधिले पोखरा लाई समुन्नत सहरका रुपमा स्थापित गराउन मद्धत पुग्नेछ भन्ने विश्वाश मैले लिएको छु ।

त्यसका लागि उत्कृष्ट संग्रहालय, आर्ट ग्यालरी, नाटकघर, सुविधासम्पन्न हलहरु आवश्यक पर्छन् । यी सबैलाई ऊर्जा दिनका लागि वार्षिक रुपमा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभलले केही हदसम्म सहयोग पुगेको मेरो ठम्याइ छ ।

गण्डकी प्रदेश सरकार पोखरालाई पर्यटकीय राजधानी घोषणाको अन्तिम तयारीमा छ । यसका लागि आवश्यक पूर्वाधारसहितका पक्षहरु पनि पहिचान भइसकेको छ । जसमध्ये सांस्कृतिक र साहित्यक गतिविधि पनि पर्छन् ।

सुन्दर फेवातालको किनार र माछापुच्छ्रेको काखमा रहेर अहिले यो कार्यक्रम गरिरहँदा पोखराबाट उठेर उचाइ चुमेका अग्रजहरुप्रति म सम्मान व्यक्त गर्दछु । कवि शिरोमणि लेखनाथ पौड्याल, जनकवि केशरी धर्मराज थापा, लोककवि अलिमियाहरु पोखराकै सेरोफेरोबाट उठेर उचाइमा पुग्नुभएको हो ।

अहिले हामीले यहिँ अगाडि नै देखिरहेका दुर्गा बराल वात्स्यायन, सरुभक्त, हरिदेवी कोइराला, अनुप बरालहरुलाई यहि भूगोलले नै आआफ्नो क्षेत्रको उचाइमा पु¥याएको हो । मलाई लाग्छ, यहाँको प्राकृतिक छटाले उहाँहरुको सिर्जनामा ऊर्जा थपेको छ ।

लामो समयदेखि राजनीतिमा लागिरहेको मैले अहिले साहित्यको सन्दर्भमा बोलिरहेको छु । राजनीति र साहित्यको अन्तिम ध्येय समृद्ध समाजको निर्माण हो । साहित्यले समृद्ध समाजको परिकल्पना गर्छ, हामी राजनीतिकर्मी त्यो परिकल्पनालाई सार्थक बनाउन लाग्छौं ।

कुनै पनि मुलुकको राजनीतिक परिवर्तनका लागि साहित्यले निकै सघाउ पु¥याएको मेरो ठम्याइ छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने राणा शासनकालमा अभिव्यक्तिको माध्यम साहित्य लेखन नै थियो । अझै भनौँ साहित्यिक सिर्जनासँग शासकहरु तर्सन्थे । सुब्बा कृष्णलालको ‘मकैको खेती’ पुस्तक त्यसैको उदाहरण हो ।

पञ्चायतकालमा पनि घुमाइ फिराई साहित्यक रचनामार्फत् शासक र शासनको विरोध भइरह्यो । अहिले हामी राजनीतिकर्मी साहित्यक र पत्रकारिता जगतबाट सत्य र बस्तुनिष्ठ आलोचनात्मक प्रतिक्रिया चाहान्छौं, जुन हामीलाई मार्गदर्शन बनोस् ।

राजनीति र साहित्यको प्रसंग आउँदा श्रद्धेय बिपी कोइरालालाई हामीले छुटाउनै सक्दैनौं । उहाँ भन्नुहुन्थ्यो, ‘राजनीतिमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’ उहाँले उल्लेख गर्नुभएको अराजकताको अर्थ अनुशासन नभएको वितण्डावादी भनेको होइन, बरु स्वच्छन्द र स्वतन्त्र चिन्तनमा विश्वास गर्ने स्वयं अनुशासित व्यक्ति भन्नुभएको हो । उहाँ आफ्नो जीवनकालभर नेपाली राजनीति र साहित्यको केन्द्र भागमै रहनुभयो ।

१२ वर्षे जेल जीवनमा उहाँले राजनीतिक चिन्तनका साथमा साहित्यक सिर्जनामा बिताउनुभयो । साहित्यिक सिर्जनाको महत्व एकातिर छन् । उहाँले जेलमा रहँदा वा अरु बेला टिपोट गरेको डायरी त्यतिबेलाको समाज, राजनीति र परिवेश बुझ्नका लागि पर्याप्त छ । जेल जर्नल, जेल डायरी, फेरि सुन्दरीजल जस्ता पुस्तकहरु राजनीतिकर्मी र अध्येताहरुका लागि निकै उपयोगी छन् ।

अन्त्यमा,
५ दिनसम्म चल्ने यस साहित्यिक महोत्सवमा आयोजक बुक वर्म फाउन्डेसनले समाजका विविध विषयलाई समेटेको छ । कतिपय छुटेका विषयहरु आगामी दिनमा समेट्दै अघि बढ्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।

यो सुखद महत्वपूर्ण प्रयासका लागि आयोजक टिमलाई धन्यवाद् ब्यक्त गर्दछु । यसमा सहभागी हुन देशविदेशबाट आउनुभएका पाहुनालाई गण्डकी प्रदेश र पोखरामा हार्दिक स्वागत गर्दै यहाँहरुको बसाई सुखद होस् भन्ने कामना गर्दछु । कला साहित्य, संस्कृति प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै कार्यक्रमको पूर्ण सफलताको कामनाका साथ मेरो भनाइ अन्त्य गर्दछु । धन्यवाद ।

 

 

 

प्रकाशित मिति २०८० फागुन ३ गते बिहीबार ०६:३३
हजुरको प्रतिक्रिया