२०८३ साउन २१ गते बिहीबार

पोखरा म्याराथनको तयारी पूरा, १४ देशका धावक दौडने

पोखरा म्याराथनको तयारी पूरा, १४ देशका धावक दौडने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ३ गते बिहीबार ०५:००

सहरलाई चिनाउने विश्वव्यापी कल्चरलाई पछ्याउँदै पोखरा म्याराथनको सुरुवात गरेको गुरुङले स्मरण गरे ।

पोखरा

पोखरा म्याराथनमा १४ देशका धावकले सहभागिता जनाउने भएका छन् ।

नेपालीसँगै केन्या, चिन, भारत, बेलायत, जर्मन, पोल्याण्ड लगायतका देशबाट पोखरा म्याराथनमा सहभागी हुन धावक आउने भएका हुन् ।

नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ५ गते १८ औं संस्करणको पोखरा म्याराथन हुनेछ ।

४२.१९६ किलोमिटरको म्याराथनमा १०८ धावक दौडने मञ्चका निर्वतमान अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार २१ किलोमिटरको हाफ म्याराथनमा १७ महिला धावकले नाम दर्ता गराएका छन् ।

सबै भन्दा बढी ५ किलोमिटर छात्रतर्फ ९९० जना दौडदैछन् भने छात्रातर्फ ४८६ जनाले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।

१० किलोमिटरको पुरुषतर्फ १२९ र महिलातर्फ २९ जनाले सहभागी हुने भएका छन् । ५ किलोमिटरको भेट्रान्सको पुरुषतर्फ १९ जना र महिलातर्फ १० जनाको नाम दर्ता भएको छ ।

रनफर फनमा भने हजारौं पोखरेलीको सहभागिताको अपेक्षा गरेको अन्तर्राष्ट्रिय संयोजकसमेत रहेका गुरुङले बताए ।

खुला म्याराथनको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो, तेस्रो र चौंथो हुनेले क्रमशः ३ लाख, २ लाख र ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

खुला म्याराथनमा गण्डकीका धावकलाई पनि पुरस्कृत गरिनेछ । विजेता, दोस्रो, तेस्रोलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जानकारी दिएको छ ।

हाफ म्याराथनको विजेतालाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रो, तेस्रो र चौंथोले क्रमशः १ लाख, ७६ हजार र १५ हजार रुपैयाँ पाउनेछन् ।

सहरलाई चिनाउने विश्वव्यापी कल्चरलाई पछ्याउँदै पोखरा म्याराथनको सुरुवात गरेको गुरुङले स्मरण गरे । ‘पोखराको पर्यटन प्रबद्र्धन हुन्छ । संसारभर चिनाउँछ । विदेशमा भएका नेपाली नयाँपुस्तालाई जोड्न सकिन्छ’, उनले भने ।

खेलकुदको महत्व के छ भनेर समुदायमा रुपान्तरण ल्याउन म्याराथन सफल भएको उनको दाबी छ ।

पोखरा म्याराथनमा रन फर फन बाहेका सबै विधाका धावकलाई यसपाली चिप्स जडान हुनेछ ।

गतवर्ष खुला र हाफ (महिला) म्याराथनका सहभागी धावकलाई मात्रै चिप्स जडान गरिएको थियो । चिप्स जडान गर्नलाई म्याराथनमा दौडने धावकको कोटा नै निर्धारण गरियो ।
गतवर्षको सिकाइबाट सबै इभेन्टमा चिप्सको प्रयोग गरेको नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । ‘प्रविधिमैत्री बन्नलाई चिप्सको प्रयोग गर्दैछौं’, उनले भने ।

यो पटक रुट समेत परिवर्तन भएको छ । व्यस्त समयमा कोर सिटीमा सवारी आवगमन रोक्न सकस भएकाले रुट परिर्वतन गरेको अध्यक्ष पराजुली बताउँछन् ।

‘सुरक्षाको दृष्टिकोणले पनि वैकल्पिक रुट खोज्नुपर्ने अवस्था आयो । १७ किलोमिटर पोखरा भ्याली दौडाउछौं भने २५ किलोमिटर पोखराभन्दा अलि बाहिर फेवाताललाई काखमा राखे्र माछापुच्छ«े हेर्दै दौडने रुट निर्माण गरेका छौं’, पराजुलीले भने ।

पोखरा रंगशालाबाट सुरु भएको म्याराथनका सबै इभेन्ट लेकसाइडको हल्लनचोकमा पुगेर टुंगिनेछ ।

खुला म्याराथनका धावक घाँटीछिना पुगेर हल्लनचोक फर्किएर दौड पूरा गर्नेछन् । हाफ म्याराथनका धावक भने घाँटीछिना नपुग्दै बीचबाट हल्लनचोक फर्कनेछन् । म्याराथनको रुटमा ३ घण्टा सार्वजानिक सवारी साधन बन्द हुनेछ ।

प्रकाशित मिति २०८० फागुन ३ गते बिहीबार ०५:००
हजुरको प्रतिक्रिया