२०८३ साउन २१ गते बिहीबार

एसईई दिने विद्यार्थीलाई अभिमुखीकरण

एसईई दिने विद्यार्थीलाई अभिमुखीकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ४ गते शुक्रबार ११:४९

कार्यक्रममा नेसनल प्याब्सन, कास्कीअन्तर्गतका विद्यालयका  कक्षा १० मा अध्ययनरत एसइई परीक्षाको तयारी गरिरहेका करिब १ हजार २ सय विद्यार्थी र विद्यार्थीसँगै उपस्थित करिब १५० जना शिक्षक, सञ्चालकहरूको उपस्थिति थियो ।

पोखरा

नेसनल प्याब्सन कास्कीले पोखरामा एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम गरेको छ । यस वर्ष एसइई परीक्षा दिने विद्यार्थीहरू लक्ष्य गरी कार्यक्रम गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले प्रेरणापरक प्रस्तुति दिएका थिए ।

परीक्षा राम्रो गर्नका लागि बालबालिकाहरू मनोवैज्ञानिक रुपमा तयार रहनुपर्ने कुरामा विशेष जोड दिएका थिए ।

विभिन्न हृदयस्पर्शी श्रव्यदृश्य सामग्रीसमेतको प्रयोग गर्दै उनले प्रस्तुति दिइरहँदा उपस्थित बालबालिकाको अनुहारमा गम्भीरता एवं भावुकता स्पष्ट झल्कन्थ्यो ।

कुनै कुनै समयमा त उनले यस्तो प्रस्तुति दिए कि उपस्थित अधिकांश बालबालिकाका आँखाबाट आँसु झरिरहेका देखिन्थे भने धमाधम गोजीका रुमालहरू आँखा र गालामा दौडिरहेको दृश्य देख्न सकिन्थ्यो ।

यो दृश्यले उपस्थित कतिपय शिक्षक एवं विद्यालय सञ्चालकहरू पनि निकै गम्भीर देखिएका थिए ।

उनले पढाइको महत्त्व, पढाइको अनिवार्यता अनि पढाइसँग परीक्षाको सम्बन्धलाई विभिन्न चरणमा प्रस्तुत गरेका थिए ।

एउटा व्यक्तिको क्षमता विकासमा समाजका विभिन्न पक्षहरू उत्तिकै जिम्मेवार रहने कुरालाई उनले हृदयस्पर्शी तरिकाले प्रष्ट्याए थिए ।

कार्यक्रम सकिएपछि पोखरा सभागृहको हलबाट निस्केका अधिकांश विद्यार्थीमा भिन्नैखाले उत्साह र उमंग अनुभूत गर्न हुन्थ्यो ।

कार्यक्रमको समापनमा विद्यार्थीहरुले दाहालको पक्षमा गरेको हुटिङले नै कार्यक्रमको प्रभावकारिता मापन गर्न सकिन्थ्यो ।

कार्यक्रममा शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले नेसनल प्याब्सनले विद्यार्थीको सर्वपक्षीय विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।

‘यो कार्यक्रमले विद्यार्थीलाई बोर्ड परीक्षामा मर्यादित तवरले प्रस्तुत हुन विशेष योगदान दिनेछ’, उनले भने ।

सो अवसरमा नेसनल प्याब्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारीले आगामी एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी र सम्बन्धित विद्यालयलाई संस्थाको तर्फबाट जनही ५०/५० हजार पुरस्कार प्रदान गरिने घोषणा पनि गरे ।

कार्यक्रममा नेसनल प्याब्सन, कास्कीअन्तर्गतका विद्यालयका  कक्षा १० मा अध्ययनरत एसइई परीक्षाको तयारी गरिरहेका करिब १ हजार २ सय विद्यार्थी र विद्यार्थीसँगै उपस्थित करिब १५० जना शिक्षक, सञ्चालकहरूको उपस्थिति थियो ।

प्रकाशित मिति २०८० फागुन ४ गते शुक्रबार ११:४९
हजुरको प्रतिक्रिया