अभियुक्तबाट बेनीमा भेटिएको थियो ४ केजी ४५ ग्राम चरेश
हरिकृष्ण गौतम ।
म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिका–२, रूमबाट प्रहरीले चामलको खाली बोरामा चरेश बनाउने फगामको मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र ठूलो परिमाणमा प्याकिङ गर्ने प्लाष्टिकको झोला बरामद गरेको छ ।
गएको फागुन ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुलबाट रूमका ३४ बर्षिय तिलक विकलाई ४ केजी ४५ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरको थियो ।
अनुसन्धानको क्रममा उनले घर नजिकैको सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक कुमार गुरूङले बताए ।
‘अभियुक्तसँग रहेको चरेस बनाउने साम्रागी बरामद भएको हो, थप अनुसन्धान भइरहेको छ,’ सूचना अधिकृत गुरुङले भने ।
गाउँमै चरेस बनाएर सिधै ग्राहक र व्यापारीलाई पु¥याउने गरिएको समेत प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीसहित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्त विकको घर तथा आसपासका क्षेत्रमा खानतलासी गरेको थियो ।
विकलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
म्याग्दीमा भेटिएको चरेश अधिकांस पश्चिम म्याग्दी हँुदै आउने गरेको छ ।
१० बर्षमा म्याग्दी प्रहरीले जिल्लाभित्र लागु पर्दाथ र लागु औषधको ओसारपोसारमा संलग्न ७८ जनालाई सामान सहित पक्राउ गरेको छ ।
केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेशसहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।
मालिका गाउँपालिकाको रूम क्षेत्रबाट चरेशसँगै पटकपटक पक्राउ पर्न थालेपछि स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा खोज र नष्ट सहित सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।
जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिन्छ भने गाँजा र चरेश बाहिर खपत हुने गरेको छ ।
म्याग्दीमा खेतबारीमा ब्यवसायीक रुपमा गाँजा खेती नगरिएपनि प्रहरीको नियमित नजर नपुग्ने क्षेत्रमा विषादी तथा रासायनिक मलको प्रयोग नगरी गाईवस्तुको मूलपत्र र स्याउलाबाट बनेको कम्पोष्ट मल प्रयोगबाट उत्पादित चरेसको माग धेरै रहेको प्रहरीको हिरासतमा रहेका अभियुक्तहरूले बयान दिने गरेका छन् ।
प्रकाशित मिति २०८० फागुन १० गते बिहीबार १०:१७




