पोखरा ।
वेस्ट एसियन फुटबल महासंघ (वाफ) च्याम्पियनसिपमा नेपाली महिला फुटबल टोलीले आज इराकसँग खेल्दैछ ।
खेल साउदी अरबको किंग अबदुल्लाह स्पो्र्टस सिटी स्टेडियममा राति पौने ८ बजे हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो भने इराक प्यालेस्टाइनसँग ३–० गोलले हारेको थियो ।
नेपाललाई जित दिलाउन आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए ।
नेपाल आफ्नो लयलाई कायम राख्दै आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रदै छ । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।
समूह चरणको अन्तिम खेलमा नेपालले पर्सि फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रकाशित मिति २०८० फागुन १० गते बिहीबार १०:२४