२०८३ असोज २४ गते शनिबार

थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध पत्रकार गिरी पुगे उच्च अदालत

थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध पत्रकार गिरी पुगे उच्च अदालत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १३ गते आइतबार ०६:५२

गिरी गत बुधबार अदालतमा आफैं उपस्थित भएका थिए

मित्रमिलन सहकारी प्रकरणमा गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन्

पोखरा

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध पत्रकार अर्जुन गिरी उच्च अदालत पोखरा गएका छन् ।

पोखराको ताण्डव न्युजका प्रधान सम्पादकसमेत रहेका गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले फागुन १० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

आदेशको विपक्षमा उच्च अदालत पोखरामा निवेदन दिएका गिरीलाई थुनामा राख्नुको कारणबारे जिल्ला अदालतसँग कैफियत मगाउने आदेश गरेको हो ।

उच्च अदालत पोखराका न्यायाधीश धनसिंह महराको इजलासले थुनामा राख्नुको कारणबारे जिल्ला अदालतबाट लिखित कैफियत मगाउने आदेश गरेको उपरजिस्ट्रार तथा सूचना अधिकारी विश्वनाथ अधिकारीले जानकारी दिए ।

पूर्व लेखा समिति सदस्यसमेत रहेका गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्युज पत्रिका, रेस्टुरेन्ट र घरमासमेत लगाएको अभियोग छ ।

गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी गत बुधबार अदालतमा आफैं उपस्थित भएका थिए । मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

मित्रमिलन सहकारी प्रकरणमा गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

यसअघि सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार÷शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति २०८० फागुन १३ गते आइतबार ०६:५२
हजुरको प्रतिक्रिया