समापनमा पाेखराका मेयरसँग विशेष अन्तरक्रिया हुने
पाेखरा ।
पोखराकाे नयाँबजारस्थित पाेखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सनिबार आयाेजित एक कार्यक्रमकाबीच उद्घाटन गरे । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । सिर्जनशील कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका कुल ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
अवलोकनकर्ताले हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका कलाको अवलोकन गर्न पाउनेछन् । पाँच दिनसम्म चल्ने प्रदर्शनीको समापन फागुन २३ गते हुनेछ । समापनको दिनमा दिउँसो ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रम समेत गरिनेछ । यो कार्यक्रमले आर्ट ग्यालरी लगायतका विषयमा सबैलाई थप प्रष्ट पार्ने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा सहभागि कलामध्येबाट सबै विधामा उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तीकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दूई जनालाई पुरस्कृत गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीले बताए । सबै विधातर्फका विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने उनकाे भनाइ छ ।
प्रदर्शनी मार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफुहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए ।
‘जाती जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवाद बाहेक घरभित्र थन्कीएको छ, समुदायमा थन्कीएको छ, सुषुप्त हुन थालेको छ, त्यसलाई पुनर्जागरण गर्ने भनेका छौं’ उनले भने ।

प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने आफूहरुको तयारी रहेको उनले खुलाए । समाजको तल्लो तहसम्म पुगेर समाजको तल्लो तहमा रहेको कलालाई माथि उठाउने योजनाका साथ आफूहरुले काम गरिरहेको उनको भनाई थियो ।
‘गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अबदेखि हरेक वर्ष १० दिने कला प्रदर्शनी गण्डकी प्रदेशमा आयोजना गरिने बताए । त्यसरी आयोजना गरिने प्रदर्शनी हरेक वर्ष प्रदेशका फरक–फरक जिल्लामा गर्ने तयारी गरिएको खुलाए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सिर्जनशील कलाकार समुह पोखराका कार्यबहाक अध्यक्ष डिबी गुरुङले गरेका थिए ।
तस्बिर: राधिका कँडेल
प्रकाशित मिति २०८० फागुन १९ गते शनिबार ०७:१८




