पोखरा
पोखराको पश्चिमी भूभाग सेंदीस्थित अन्नपूर्ण केबलकार परिसरमा शनिबार बिहान एकपछि अर्को गर्दै साहित्यकारहरु उपस्थित भए ।
कोही डायरी बोकेका, कोही ब्यानर बोकेका त कोही माइन्युट बोकेका फरक उमेर समूहका मानिसहरु ।
उनीहरुको जमघट देखेर स्थानीय पनि आश्चर्यमा पर्दै सोधे, ‘आज यहाँ के हुँदैछ र ?’
सहभागीमध्येका एकले जवाफ दिए, ‘अक्षरयात्रा…।’
जवाफ सुनेर स्थानीय झन् अलमलमा परे । उनको अलमल चिर्न अर्का सहभागी अघि सर्दै भने, ‘अक्षरयात्रा, पोखराबाट सञ्चालित एक साहित्यिक कार्यक्रम हो ।’
स्थानीयले सायद बुझेछन् क्यारे ! उनी टाउको हल्लाउँदै अघि बढे ।
‘अक्षरयात्रा’ गजलसन्ध्या पोखरा र नवनीत साहित्य सागरद्धारा सञ्चालित साहित्यिक अभियान हो ।
सोही अभियानको २ सय ८ औं शृंखलाका लागि पोखरा आसपासमा सक्रिय साहित्यकारहरु सेंदीमा भेला भएका थिए । स्थानीय व्यवस्थापनको चाँजोपाँजो मिलाएको थियो, सराङ्कोट धार्मिक क्षेत्र विकास समितिले ।
अक्षरयात्रीहरु केबलकार चढेर पोखराको पर्यटकीयस्थल सराङकोट जाने तर्खरमा थिए ।
झण्डै २ अर्ब खर्चेर बनेको पोखराको सेंदीदेखि सराङकोट जोड्ने केबलकारको टिकट हातमा बोकेर समितिका अध्यक्ष प्रेमबहादुर जिसी आइपुगे । अक्षरयात्री लहर मिलाएर केबलकार चढे र लागे उकालैउकालो सराङकोट ।
सराङकोटमा केबलकारबाट झर्दाझर्दै हँसिलो मुहारमा नमस्ते पस्किरहेका थिए, भावना कृषि सहकारीका अध्यक्ष बलराम कोइरालासहितका स्थानीय ।
अक्षरयात्रीको समूह सराङकोट घुम्न र बुझ्न भनेर स–सानो समूहमा बाँडिए, कोही सराङकोट धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष मिनबहादुर थापाको पछि लागे, कोही अध्यक्ष प्रेमबहादुर जिसीको पछि ।
र, कतिपय अक्षरयात्री अक्षर खोज्न एक्लै बरालिन थाले ।
शनिबार पोखराको मौसम अलिअलि बिग्रेको थियो । घुर्मैलो आकासले धित मरुञ्जेल फेवाताल हेर्न नपाएको थकथकी, दन्तलहरजस्तै मिलेर बसेका हिमालको दर्शन नभएको दुखेसो व्यक्त गर्दै साहित्यकारहरु सराङकोट लेख्न बसे ।
केहीबेरको अक्षरकर्मपछि शिव मन्दिर प्रांगणमा सुन्ने सुनाउने क्रमको चाँजोपाँजो मिल्यो ।
गजलसन्ध्याका सचिव उदीपराज ढुंगानाले संस्थाको ब्यानरअघि उभिएर कार्यक्रमको सुरुवात गरे ।
अक्षरयात्रीहरुले एकपछि अर्को गर्दै सराङकोट, कास्कीकोट, फेवाताल, माछापुच्छ्रे, बाटुलेचौर र काहुँलाई बिम्ब बनाएर गजल, मुक्तक र हाइकु पस्किरहे ।
‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ उद्घोषका साथ सञ्चालित अभियानको २ सय ८ औं शृंखलामा धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष जिसीले १८ करोड रुपैयाँ लागतमा बन्दै गरेको शिव मन्दिर निर्माण र सो क्षेत्रको प्रवद्र्धनमा अक्षरयात्रा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
‘प्रदेश, पालिका र केन्द्र सरकार घच्घच्याएर जेनतेन काम भइरहेको छ । निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन अझै रकम पुगेको छैन’, उनले भने, ‘अक्षरयात्रीको अक्षरले यी कुरा लेख्दिए सरोकारवालाको ध्यान पुग्थ्यो कि !’
मन्दिरमा करिब ५२ फिटको गणेशको पाँचमुखे मुर्ति स्थापना गर्न लागिएको जिसीले जानकारी दिए ।
पोखरा आसपासमा स्थानीयस्तरका सुखदुख, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावना अक्षरका माध्यमले उजागर गर्न अक्षरयात्राको भूमिका महत्वपूर्ण रहेको गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीले बताए ।
सन्ध्याका संस्थापक अध्यक्ष दिलिप दोषी, २ सय ८ औं शृंखलाका संयोजक लक्ष्मण तिमिल्सिना, सराङकोट धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष मिनबहादुर थापा, भावना कृषि सहकारीका अध्यक्ष बलराम कोइरालालगायतले सराङकोट प्रचुर सम्भावना भएर पनि पूर्वाधार निर्माणका सन्दर्भमा पछि परेको जिकिर गरे ।
कार्यक्रममा करण कपुर खनाल, सागर अधिकारी, शोभा लामिछाने, माधव खतिवडा, त्रुपक, श्रीराम अधिकारी ‘गोर्जे’, भरत आचार्य, सिचु सारु मगर, लाल कार्की, विष्णु सुवेदी लगायत २ दर्जन अक्षरयात्रीले तत्स्थानमै लेखिएका रचना वाचन गरेका थिए ।
गजल सन्ध्या पोखराले हरेक महिनाको दोस्रो सनिवार नियमित गजलवाचन तथा तेस्रो शनिबार अक्षरयात्रा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति २०८० फागुन २० गते आइतबार ०५:२७




