पोखरा
पोखरा महानगरपालिका–१९ लामाचौरकी सुष्मा गहतराज सुनारको दम्पत्ति ७ वर्षदेखि व्यावसायिक च्याउ खेतिमा समर्पित छन् । भुर्जङखोला च्याउ फार्म सञ्चालन गरेकी सुनारको फार्ममा ३५ बढी टनेल छन् ।
विगतमा जस्तै यो वर्ष पनि उनको परिश्रमले बजारमा उचित मूल्य पाएन । पोखरा महानगरपालिकाले च्याउको न्यूनतम् समर्थन मूल्य १ सय ३० रुपैयाँ तोकेको छ । तर, उत्पादन अनुसारको मूल्य नपाएर उनले नोक्सानी व्यहोर्नुपर्यो ।
‘उत्पादन राम्रो भयो । उत्पादनको लागतभन्दा निकै तलको मूल्य पाइयो । महानगरले तोकेको समर्थन मूल्यभन्दा धेरै कममा बेच्नुपर्यो’, उनले सुनाइन् ।
उनले महानगरसमक्ष १३ हजार ८२५ केजी न्यूनतम् समर्थन मूल्यका लागि पेश गरेकी थिइन् । समर्थन मूल्य अनुसारको बिक्री नभएर घाटा उनी एक्लैले व्यहोर्नुपरेन ।
पोखरा महानगरपालिकाले उनले व्यहोरेको घाटालाई सम्बोधन गरेको छ ।
महानगरपालिकाले ७ हजार ५६० केजी च्याउको क्षतिपूर्ति स्वरुप ३ लाख ६२ हजार ९२० रुपैयाँ सुनारलाई दिएको छ । पाेहाेर पनि उनले साढे ३ लाख रुपैयाँ महानगरपालिकाबाट क्षतिपूर्ति पाएकी थिइन् ।
त्यसअगाडि जत्ति नोक्सान भएपनि आफैंले सहनुपरेको उनले सुनाइन् ।
क्षतिपूर्ति महानगरपालिकाले उपलब्ध गराएपछि पलायन हुने सोच नआउने उनको अनुभव छ ।
‘किसानलाई उत्पादन पहिल्यै अनुदान दिनुभन्दा उत्पादनको मूल्य दिँदा सहज हुन्छ । घाटा भएपनि पलायन हुने सोच नआउने रहेछ’, उनले भनिन् ।
ग्रिन लाइभ मसरुम फार्मका सञ्चालक चोविन्द्रबहादुर कुँवरले ३ लाख १ हजार ७४० रुपैयाँ महानगरपालिकाबाट समर्थन मूल्यमा राहत पाए । आफूले उत्पादन गरेको च्याउ बजारमा आएको उतारचढावले बिक्री नभएको बखत पाएको क्षतिपूर्तिले चोटमा मल्हमको काम गरेको उनी बताउँछन् ।
महानगरको कार्यक्रम किसानको हितमा भएको उनले बताए । ‘यसरी व्यावसायिक किसानलाई सम्बोधन गर्दा हतोत्साहित हुँदैनन्’, नेपाल च्याउ उत्पादक महासंघ गण्डकीका अध्यक्षसमेत रहेका कुवँरले भने ।
असोज, कात्तिक र चैत बैशाखमा च्याउ उत्पादन निकै राम्रो हुँदा बजार नपाउने समस्या रहेको उनले सुनाए । ‘उत्पादनको बेला बजार पाउँदैन । जति सस्तोमा दिएपनि खपत नहुने समस्या छ’, उनले भने ।
महानगरले तोकेको समर्थन मूल्यले पनि उत्पादनको लागत भने नउठ्ने कुँवरको भनाइ छ । उनका अनुसार च्याउको समर्थन मूल्य कम्तिमा पनि १५० रुपैयाँ तोक्नुपर्छ ।
पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ वटा कृषि फर्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।
च्याउ, गोलभेंडा, सिमी र कोदो उत्पादनमा नोक्सानी भोगेका किसानलाई महानगरपालिकाले समर्थन मूल्य दिएको हो ।
६० हजार ४४१ किलो च्याउ, २५ हजार ४१७ किलो गोलभेँडा, ९ हजार ५२० किलो सिमी र २९१ केजी कोदोको समर्थन मूल्य प्रदान गरेको महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार २६ लाख ७९ हजार ७६१ रुपैयाँ समर्थन मूल्य वितरण गरिएको हो ।
समर्थन मूल्य नपाएका किसानलाई प्रोत्सहान गर्न महानगरपालिकाले चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सबैभन्दा बढी चिसापानी च्याउ फार्मका सन्दीपबहादुर क्षत्रीले ११ हजार १६६ केजी च्याउको ४ लाख ८५ हजार ९४० रुपैयाँ प्राप्त गरेका छन् ।
तोकिएको न्यूनमत् समर्थन मूल्य नपाएका किसानलाई प्रोत्साहन गर्ने नीति महानगरको भएको कडरिया भनाइ छ ।
२ वर्ष अगाडि पोखराका किसानले उत्पादन गरेको काँक्रो बजार मुल्य भन्दा टिप्न लागत बढी परेपछि समर्थन मूल्यको कार्यक्रम ल्याएको उनले जानकारी दिए ।
‘पोखरामा स्थानीयस्तरमै उत्पादन भएका वस्तु धेरै कारणले मूल्य नउठ्ने भयो । उत्पादनको लागत पनि नपाएपछि किसान निराश भएर पेशाबाटै पलायन हुने अवस्था आउने भएकाले यो कार्यक्रम बनेको हो’, कडरियाले भने ।
महानगरले तोकेको न्यूनतम् समर्थन मूल्यमा किसानले जति कममा बेच्नुपर्ने हाे त्यति रकम महानगरपालिकले दिने उनले बताए ।
समर्थन मूल्य पाउन दर्ता भएका कृषि फार्म र किसानले महानगरपालिकामा सूचीकृत अनिवार्य गरिएको छ । आफूले लगाएको अन्नबाली, जग्गाको क्षेत्रफल लगायतका विवरणसहित खरिदकर्ता थोक विक्रेतासमेत अनलाइनबाट सूचीकृत हुन सक्ने व्यवस्था मिलाइएको छ ।
कृषि पेशामा लागेका हतोत्साहित हुन नपरोस् भनेर महानगरले समर्थन मूल्यमा व्यहोरेको क्षति दिएको मेयर धनराज आचार्यले बताए ।
‘कृृषि उपजको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकका लागि निकै महत्वपूर्ण छन्’, उनले भने, ‘कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको छ । तपाईंहरु उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुहोस् महानगरपालिका साथमा छ ।’
रैथाने वाली संरक्षणमा पनि महानगरपालिका नीति नै बनाएर लागेको उनको भनाइ छ ।
पोखरा महानगरपालिका ३५ कृषि उपजको समर्थन मूल्य तोकेको छ ।
च्याउ, गोलभेंडा, कोदो, मकै, गहुँ, फापर, आलु, गाँजर, मुला, मह लगायत कृषि उपजको महानगरले समर्थन मूल्य तोकेको छ।
गतवर्ष पोखरा महानगरले २३ कृषि उपजको समर्थन मूल्य तोकेको थियो ।
समर्थन मूल्य नपाएका किसानलाई क्षति कम गर्न महानगरपालिकाले २७ लाख रुपैयाँ वितरण गरेको जनाएको छ ।
पोखरेली जेठोबुढोबाट समर्थन मूल्य तोक्न थालिएको थियो । धेरै उत्पादन र खपत हुने कृषि उपजको समर्थन मूल्य तोकिएको छ ।
पोखरा महानगरपालिकाले ताेकेका ३५ कृषि उपजको समर्थन मूल्य





