पाेेखरा
सूचना केन्द्र, आर्ट ग्यालरी, पुस्तकालय र घन्टाघरसहित पोखरा भवनको शिलान्यास भएको छ । पोखरा पृथ्वीचोकमा बन्ने उक्त भवन पोखरा महानगर प्रमुख धनराज आचार्यले आइतबार पोखराको सातौं स्थावना दिवसको अवसरमा शिलान्यास गरेका हुन् ।
१८ महिनामा सक्ने गरी पोखरा भवन कोजु इन्जिनियरिङ, आरुषी, एबीएसी जेभीले ठेक्का पाएको हो । उक्त भवन बनाउन भ्याटबाहेक ६ करोेड ९३ लाख रुपैयाँमा महानगरले जेभीग ठेक्का सम्झौता गरेको होे ।
‘पोखरा भवन’को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बन्ने महानगर भवन तथा पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार अन्डरग्राउन्डमा एकैपटक ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्नेछ ।
पोखरा महानगरले आर्टग्यालरी, पुस्तकालयसहित नयाँ भवन बनाउने निर्णय गरेको करिब ५ वर्षपछि भवनको शिलान्यास भएको हो ।
तत्त्कालीन महानगर प्रमुख मानबहादुर जिसी नेतृत्वमा १ चैत ०७५ मा बसेको कार्यपालिका बैठकले महेन्द्रपुलबाट आर्टग्यालरी र पुस्तकालय हटाउने निर्णय गरेको थियो ।
महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी र पुस्तकालय दशकौं पुरानोे भएको र साँघुरो भएकाले खुला ठाउँमा सुविधासम्पन्न भवन बनाएर स्थानान्तरण गर्ने महानगरको योजना थियो ।
प्रकाशित मिति २०८० फागुन २७ गते आइतबार ०४:११




