पोखरा ।
पत्रकार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय त्रिभुवन पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
आइतबार पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ रहेको छ ।
स्वर्गीय पौडेललाई मरणोपरान्त अर्पण गरिएको पुरस्कार उनकी धर्मपत्नी प्रतिभा पौडेलले ग्रहण गरिन् ।

पौडेलको गतवर्ष माघ १ गते पोखराकोे सेती खोंचमा भएकोे यति एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएको थियो ।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा परिवारले स्थापना गरेको पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आइरहेकोे छ ।
पुरस्कार अर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने नीति रहेको उल्लेख गरे ।
वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्न कानुनीसँगै व्यवहारिक रुपमा प्रतिवद्ध रहेको प्रधानमन्त्री दाहालले सुनाए ।
प्रकाशित मिति २०८० चैत ४ गते आइतबार ११:२२




