पक्राउ परेकाहरु प्रयोगकर्ता नभई कारोवारी भएको प्रहरीको भनाइ
राजु सुवदी (कल्पित)
नवलपुर ।
नवलपुर प्रहरीले ठूलो मात्रामा प्रतिवन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सिमा डेरा गरी बस्ने पश्चिम नवलपरासीका २६ वर्षीय सन्तोष कुमार गुप्ता र २६ वर्षकै विवेश तेलीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २३३ एम्पुल आएपीपीएल, २०३ एम्पुल सेरिज्याक र फेनार्गन २३० एम्पुल गरी ६६६ एम्पुल प्रतिवन्धित लागूऔषध बरामद गरेको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध बेचेर कमाएको ४५ हजार नगद पनि बरामद गरेको जनाएको छ ।
धेरै समयको मेहनतपछि प्रहरीले यो सफलता हात पारेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक नरहरि रेग्मीले बताए । उनीहरु प्रयोगकर्ता नभई कारोवारी भएको प्रहरीको भनाइ छ ।
जिल्लामा गतवर्ष लागूऔषधसम्बन्धि ७७ वटा मुद्दा दर्ता भएकोमा यो आर्थिक वर्षमा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
कारोवारीले रुट परिवर्तन गरेकाले यो आवमा कम मुद्दा दर्ता भए पनि प्रहरी लागूऔषधविरुद्ध निर्मम तरिकाले लागिरहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०९:२८




