पोखरा
चीनको परम्परागत पर्व ड्रागन बोटरेस फेस्टिभल गएको असारमा पोखरा भित्रियो । दक्षिण एसियामै पहिलोपटक पोखराको फेवातालमा आयोजना भएको अन्तर्राष्ट्रिय ड्रागन बोटरेसमा नेपाली र चिनियाँ टोलीले प्रतिस्पर्धा गरे । नयाँ स्वादको खेलको मज्जामा पोखरेली रमाए ।
अर्को वर्ष पनि फेवातालमै ड्रागन बोटरेस फेस्टिबल मनाउने घोषणासँगै २ दिने कार्यक्रमको बिट मारियो । फेवातालबाट पोखराकै बेगनासतालमा ड्रागन बोटरेसको प्रतियोगिता विस्तार भएको छ । बेगनासतालमा राष्ट्रियस्तरको ड्रागन बोटरेस प्रतियोगिता आयोजना गरिएको छ ।
फागु पूर्णिमाको अवसर पारेर चैत ११ र १२ गते बेगनास तालमा प्रतियोगिता आयोजना गरिएको हो । बेगनासतालको मन्दरेपार्क डुंगाघाटमा प्रतियोगिता सञ्चालन हुनेछ ।
२ विधामा प्रतिस्पर्धा हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीमा बोटरेस प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।
उनका अनुसार ५ सय मिटरको विजेताले १ लाख ८० रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः १ लाख २० हजार, ६० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । २ सय मिटरतर्फ विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र सान्तवनाले क्रमशः ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा हालसम्म १० टोली सहभागी हुन नाम दर्ता गराएको कँडेलले बताए । ‘प्रतियोगितामा १२ देखि १६ टोलीसम्म सहभागी हुने अपेक्षा छ’, उनले भने । पोखराको बेगनाससँगै फेवाताल लगायतका तालका डुंगा व्यवासयी, ¥याफिटिङ एसोसियसन नेपाल, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोलीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।
नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोटरेश फेस्टिबलका लागि चीनबाट ल्याइएका ८ वटा विशेष ड्रागन बोटमा नै प्रतिस्पर्धा हुनेछ । चीनले ती डुंगा पोखरालाई उपहार दिएर छाडेको थियो । बेगनासमा ड्रागन बोटमा तयारी गरेपछि बल्ल प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रत्यक टोलीमा १५ जना खेलाडी सहभागी रहने जनाइएको छ । १२ जनाले प्रतिस्पर्धा गर्दा ३ जना जगेडा रहनेछन् ।
ड्रागन बोटरेसले लेखनाथ क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने होटल तथा रेष्टुुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष कँडेलले बताए । ‘पर्यटहरुको यस क्षेत्रमा बसाइ लम्ब्याइ स्थानीय आर्थिक विकासमा टेवा पुग्ने उदेश्य छ’, उनले भने । पोखरा सबै मौसम र सिजनमा भन्ने नारालाई सार्थक बनाउने उनको भनाइ थियो ।
खेल पर्यटनमा पनि सक्षम भएको सन्देश पोखराले प्रवाह गर्ने कँडेलले दाबी गरे । फेवाताल पोखराको पर्यटनमा पर्यायवाची हुँदा लेखनाथका बेगनास रुपा लगायतका ताल भने ओझेलमा छन् । उसो त लेखनाथ सात तालको सहरको उपमाले परिचित छ ।
पोखरा महानगरपालिका, ड्रागन बोट संघ गण्डकी प्रदेश र होटल तथा रेष्टुुरेन्ट एसोसियसन लेखनाथले आयोजना गरेको प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड गण्डकीले प्रबद्र्धन गर्नेछ । ड्रागन बोटरेस प्रतियोगितासँगै स्थानीय माछाका परिकारको प्रदर्शन, कलासँस्कृति भेषभुषा, झाँकी ¥याली, नेपाल–चीन सम्बन्ध झल्काउने बस्तु र परिकारको प्रदर्शन र सांगीतिक कार्यक्रम हुनेछन् ।
प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०६:२१




