पोखरा
पोखराबाट १३ वर्षीय बालक बेपत्ता भएका छन् । पोखराको फूलबारी बस्दै आएका सुवास रोका फागुन २७ गतेदेखि बेपत्ता भएका हुन् ।
स्याङजाको पुतलीबजार नगरपालिका-१३ कुमालटारी स्थायी ठेगाना भएका रोका पोखरा एकेडेमीको होस्टलमा बस्थे । कक्षा ६ मा पढ्ने उनी शिवरात्रीको छुट्टीमा होस्टलबाट घर आएको बेला वेपत्ता भएको आमा अम्बिकाले बताइन् ।
उनका अनुसार विदामा घर आएका उनी आफन्तकहाँसमेत पुगेका थिए । आफन्तको घरबाट फर्किएका उनी विदा सकिएपछि विद्यालय जाने क्रममा बाटोबाटै बेपत्ता भएका हुन् । ‘खाना खाएर स्कुल जान बाबु निस्किएको थियो । त्यसपछि सम्पर्कमा नआइ बेपत्ता छ’, अम्बिकाले भनिन् ।
फूलबारीस्थित पोखरा महानगरपालिका वडा नम्बर ११ को कार्यालयको सीसिटिभी क्यामेरामा हेर्दा त्यहाँबाट अगाडि बढेको देखिने उनले जनाकारी दिइन् ।
उनी भन्छिन्, ‘पालिखेचोकमा पनि सीसिटिभी हेर्दा बाबुलाई देखिन्छ । त्यहाँबाट कहाँ गयो केही देखिएन । बसमा चढेर कतैं गयो कि त्यो पनि देखिएन ।’
बेपत्ता सुवासको निधारमा काटेको खत छ । गहुँगोरो वणर्को पातालो शरीर भएका उनले घरबाट निस्कने बेला सेतो ज्याकेट, जिन्सको पाइन्ट र जुत्ता लगाएका थिए ।
छोरा हराएपछि अम्बिकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छन् । खोजि जारी रहेको प्रहरी बताउँछ ।
प्रहरीले पनि सुवासलाई कतैं देखेको खण्डमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गर्न भन्दै सूचना जारी गरेको छ ।
प्रकाशित मिति २०८० चैत ७ गते बुधबार ०७:३५




