हत्यामा संलग्नको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ गरी पोखरा ल्याइयो
पाेखरा
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा चैत ३ गते भेटिएको शव हत्या गरेर फालिएको प्रहरीले निश्कर्ष निकालेको छ ।
सिक्लेस गाउँबाट दक्षिण पाखोमा भेटिएको शव सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बाका रामलाल तामाङको भएको र उनको हत्या भएको खुलेको हो ।
मादीमा निर्माणाधीन २ वटा हाइड्रोपावरमध्ये एउटामा काम गर्न भनेर गाउँबाट फकाएर सँगै आएर सिक्लेसमा लामलालको हत्या गरेर ३ जना फरार भएको पाइएको छ ।
आफ्नै श्रीमतीले रामलालको हत्या गर्ने सुपारी दिएर पठाएको र सिक्लेसमा ल्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले हत्याको आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम गर्न भनेर गएका ३ जना काठमाडौं र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको छ ।
जुगल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष लक्ष्मान दोङका अनुसार रामलालले डोजर, स्काभेटेरजस्ता ठूला गाडी चलाउँथे । प्रहरीले रामलालको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटेको थिए ।
४ जनालाई पक्राउ गरी थालिएको प्रारम्भिक अनुसन्धानले श्रीमती अर्कैसँग सम्बन्धमा रहेको र उनैले हत्याको योजना बनाएको देखिएको छ ।
पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन् ।
प्रहरीका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ । पोस्टमार्टनपछि रामलालका बुबाले शव बुझेका छन् ।
मादीमा २ वटा निर्माणाधीन हाइड्रो जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए ।
वडाध्यक्ष गुरुङले लास नै हो भन्ने पक्का भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर लगेर खोजी थालेका थिए ।
हाइड्रोमा काम गर्न भनेर पोखराबाट गएका अर्का एक व्यक्तिले बसमा रामलालसँग चिनजान भएको प्रहरीलाई बताएका थिए । उनीहरु ४ जनाको समूहमा रहेको पनि ती व्यक्तिले जानकारी दिएका थिए ।
चिप्ली गाउँमा बसबाट झरेर खाजा खाएको जानकारी पाएपछि प्रहरीले त्यही सिसी क्यामरामार्फत हेरेर ४ जना नै रहेको पत्ता लगाएको थियो ।
वडाध्यक्ष देवीजंगकै सहयोगमा जुगल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष लक्ष्मान दोङलाई शवको फोटो पठाएपछि पहिचान र ठेगाना खुलेको हो । घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी प्रहरीकाे छ ।
प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार ०२:५१




