पोखरा
‘घरको मालिक परदेशमा गएको
धेरै भयो केही खबर नपाएको
पाइन खबर
घर फर्कि आउनुहोस् मेरो हजुर’
२०४२ सालतिर बजारमा आएको यो मार्मिक गीतलाई स्रोताले निकै रुचाए । मुग्लानतिर भासिएका खसमले घर सम्झेर चिट्ठी पत्र पनि नपठाइ उतै हराएपछि पखाईमा बसेकी जहानको अनुनय समेटेर तयार भएको ‘पाइन खबर’ बोलको गीतमा कोकिल स्वर भरेकी थिइन् हरिदेवी कोइरालाले । शब्द र लय पनि उनै वरिष्ठ लोकगायिका हरिदेवीले बुनेकी हुन् ।
आफुले त्यतिबेलाको समाजमा प्रत्यक्ष देखेको लाहुरेका परिवारको पिडालाई गीतमा उतारेको कोइराला बताउँछिन् । ‘कति लाहुरे उतै मरे । लाहुरेको पट्टाले परिवार पेन्सन थापेर खान्थे’, यी कुराले उनलाई मन चसक्क हुन्थ्यो ।
‘त्यतिखेर लाहुर जानेको भनेको इन्डिया जाने सम्झन्थ्यौं । बम्बइ जान्थे, कलकत्ता जान्थे । गाउँघरतिर इन्डियाको लाहुरे आए भन्थे । मलायको लाहुरे हुन्थे । हङकङकोसम्म सुन्थ्यौं । प्राय इन्डियाको छाप छ’, हरिदेवी सम्झन्छिन्, ‘गाउँमा जब लाहुर गइसकेपछि श्रीमतिले, आमाले बाटो हेरेर कहिले आउँछन् भनेर बस्थे । यस्ता यस्ता कुराहरुले मनमा छुन्थ्यो । त्यस्तै खालका धेरै कविताहरु लेख्ने पनि ।’
त्यही परिवेशलाई टपक्क टिपेर उनले २०३८ सालमा गीत तयार पारिन् । रेकर्ड हुनु पहिले घर गाउँमा धेरै पटक गुनगुनाइन पनि । क्यासेटमा रेकर्ड गर्दा कस्तो सुनिएला ? उनलाई रहर जाग्यो । त्यसपछि हरिदेवीको पहिलो गीत क्यासेटमा रेकर्ड भयो ।
त्यतिबेलाको हर घरको व्यथालाई लोक लयमा टपक्कै टिपेर गुञ्जिएकी हरिदेवीलाई यही गीतले सर्वत्र चिनायो । क्यासेटमा पहिलो गीतले नै हीट भएकी हरिदेवीको कोकिल स्वर भरेका एक हजारको हाराहारीमा गीत बजारमा छन् । तर, उबेलाका स्रोतादेखि अहिलेसम्मका दर्शक श्रोतामाझ हरिदेवी ‘पाइन खबर’ गायिकाको परिचयले सुप्रसिद्ध छिन् ।
तीजको कोशेलीबाहेक हिजोआज पहिला जस्तो धेरै हरिदेवीका गीतहरु बजारमा आउदैनन् । साहित्यिक कार्यक्रमबाहेक मेला महोत्सवमा पनि उनलाई हेर्दै सुन्ने मौका त्यति मिल्दैन । शनिबार भने पोखरेलीले हरिदेविको पुरानै स्वाद ‘पाइन खबर’ लगायतका गीत प्रत्यक्ष सुन्ने मौका पाउने भएका छन् ।
कला साहित्यको क्षेत्रमा काम गर्दै आइरहेको इन्द्रेणी थिएटरले ‘पाइन खबर साँझ’ मार्फत हरिदेविलाई सुन्ने र हेर्ने चाँजोपाजो मिलाएको हो । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको लुकुनस्वाँरामा प्रत्यक्ष वाद्यवादनमा हरिदेवीसँगै उनका गीतहरु गुञ्जनेछन् । पोखराबाट केही पर ग्रामिण परिवेशमा ‘पाइन खबर साँझ’ खुला आकशमुनि हुने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले बताए ।
‘हरिदेवि कोइरालाका गीत, कविता, प्रकाशित कृति र कलायात्राको बारेमा प्रस्तुती हुनेछ’, उनले भने । हरिदेविलाई पदमराज ढकाल, नवराज बराल, रामजी पौडेल, दिलीप गायक, महेन्द्रराज बराल, विष्णु बराल, श्रीधर कँडेल लगायतले साथ दिनेछन् । ‘सबै कलाकारले हरिदेविको एउटा गीत अनिवार्य सुनाउनेछन्’, थिएटरका अध्यक्ष पौडेलले भने ।

आमाहरुको अनुरोधलाई स्विकार गरेर हरिदेवी कोइरालाको ‘पाइन खबर साँझ’ गर्न लागेको उनको भनाइ छ । कार्यक्रम संयोजक पौडेल भन्छन्, ‘हरिदेवी कोइरालालाई दिदी ‘पाइन खबर’ लाई हाम्रै घरको पिँढीमा एकपटक घन्काउन प¥यो भनेर कार्यक्रम तयार भएको हो ।’
पुम्दीभूम्दी पर्यटनका लागि मात्रै नभइ कला साहित्यका लागि उपयुक्त परिवेश रहेको कार्यक्रमले प्रमाणित गर्ने दाबी गरिएको छ । ग्रामिण शैली र परिवेशमा हुने कार्यक्रममा झण्डै ५ सय जना दर्शक सहभागी हुने इन्द्रेणी थिएटरको अनुमान छ ।
२०६४ सालमा पोखराको सभागृहमा हरिदेवी कोइरालाको एकल साँझ भएको थियो । त्यसको ४ वर्ष पहिले काठमाडौंमा भएको कार्यक्रम बसिवियालोमा हरिदेवीले गीतसँगै साहित्यिक कृतिहरु प्रस्तुत गरेकी थिइन् ।
ग्रामणि परिवेशमा हुन लागेको ‘पाइन खबर साँझ’ बाट नयाँ पुस्ताका दर्शकसँग पनि साक्षत्कार हुने भन्दै कोइराला उत्साहित देखिन्छिन् ।
प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार ०८:१५




