२०८३ असोज २५ गते आइतबार

नेताको मुखमा सर्वसम्मत, निर्वाचनमा गुटको प्रतिस्पर्धा

नेताको मुखमा सर्वसम्मत, निर्वाचनमा गुटको प्रतिस्पर्धा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १० गते शनिबार ०७:४४

एमाले कास्कीको नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने समय बाँकी रहेपनि सम्भावना भने निकै कम रहेको नेताहरुको दौडधुपले देखाएको छ ।

पोखरा
नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशन सुरु भएको छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार उद्घाटन भएको अधिवेशनको आइतबार बिहान साढे ८ बजेबाट बन्द सुरु हुने छ ।

अधिवेशनको उद्घाटन शत्रमा महासचिव पोखरेलसहित सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य थपमाया थापा, खगराज अधिकारीलगायतले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

अधिवेशनबाट १ सय २० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । कमिटीले थप २१ जना मनोनित गरी १ सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । अधिवेशनका लागि ९ सय ३५ जना प्रतिनिधि छनोट भएका छन् ।

एमाले कास्कीको नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने समय बाँकी रहेपनि सम्भावना भने निकै कम रहेको नेताहरुको दौडधुपले देखाएको छ । गण्डकी प्रदेश अधिवेशनमा जस्तै कास्कीमा पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका बीचमै प्रतिस्पर्धा हुने देखिएकोे छ ।

कास्कीमा यसअघि पनि जिल्ला अधिवेशनमा गुरुङ–अधिकारीका दुई पक्षले प्यानल बनाएका थिए । निर्वाचनमा पृथ्वीसुब्बा समूहबाट अध्यक्ष मनबहादुर गुरुङ र उपाध्यक्ष तेजनारायण अधिकारी तथा खगराज समूहबाट सचिव बैनबहादुर क्षेत्री र उपसचिव नवराज ओझा र लेखबहादुर तामाङ निर्वाचित भएका थिए ।

यसपटक पनि दुई पक्ष सक्रिय रहेकाले प्यानल बनाएरै जाने उच्च सम्भावना देखिन्छ । अधिवेशनका लागि पोखरा आएका केन्द्रीय नेताहरु पनि कास्कीमा सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिरहेका छन् । तर, भित्रभित्रै प्यानल बनाएर निर्वाचन लड्ने दुवै पक्षको आन्तरिक तयारी छ ।

यसअघि गत असोजमा भएको प्रदेश कमिटी निर्वाचनमा पदाधिकारीमा पृथ्वीसुब्बा समूहको प्यानलै निर्वाचित भएकोे थियो । यसअघि गण्डकी प्रदेशका दुई जिल्लामा भएको अधिवेशनमा म्याग्दीमा सर्वसम्मत हुँदा गोरखामा गुरुङ पक्ष विजयी भएका छन् ।

कास्कीमा पृथ्वीसुब्बा पक्षबाट अहिलेका उपाध्यक्ष तेजनारायण र नेता माधव बास्तोला अध्यक्षका आकांक्षी छन् । खगराज पक्षले अहिलेका सचिव बैनबहादुर अधिकारी क्षेत्रीलाई अध्यक्षको उम्मेदवार बनाउने पक्का गरिसकेको छ ।

प्रकाशित मिति २०८० चैत १० गते शनिबार ०७:४४
हजुरको प्रतिक्रिया