२०८३ साउन २१ गते बिहीबार

समाज

रङहरुको पर्व फागुपूर्णिमाः पोखरा रङ र संगीत झुम्दैछ, पर्यटक पनि रम्दैछन्

रङहरुको पर्व फागुपूर्णिमाः पोखरा रङ र संगीत झुम्दैछ, पर्यटक पनि रम्दैछन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ११ गते आइतबार ०८:१६

पोखरामा विदेशी पर्यटक पनि निकै हर्षोल्लासका साथ रङहरुमा रमाउने गरेका छन्

पोखरा

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाएर खुसी साट्ने परम्परा छ ।

फागु पूर्णिमाका अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रमहरु राखिएका छन् । पोखरा भित्रने पर्यटकलाई रङ लगाएर स्वागत गर्नेदेखि विभिन्न सांगीतिक कार्यक्रमका आयोजना पोखरामा भएका छन् ।

पोखरामा विदेशी पर्यटक पनि निकै हर्षोल्लासका साथ रङहरुमा रमाउने गरेका छन् । विशेष गरी पोखराको लेकसाइडका क्षेत्रमा पर्यटकहरुले एकअर्कालाई रङ लगाएर रमाइरहेका देखिन्छन् । लेकसाइडका ठाउँ ठाउँमा सांगीतिक कार्यक्रमसहित रङको उत्सव मनाइँदै छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने बताइन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । फागुका अवसरमा गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि शुभकामना व्यक्त गरेका छन् । कसैको इच्छाबिपरीत रङ दल्ने, अभद्र व्यवहार गर्ने पाइए पक्राउसमेत गरेर कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत ११ गते आइतबार ०८:१६
हजुरको प्रतिक्रिया