२०८३ साउन २१ गते बिहीबार

श्रीलंकालाई विश्वकप जिताएका वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमकाे प्रशिक्षक नियुक्त

श्रीलंकालाई विश्वकप जिताएका वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमकाे प्रशिक्षक नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २ गते बिहीबार ०५:२६

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् । ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ । उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो ।

पाेखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन् ।

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् । ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ । उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो ।

उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु १९ टिमको प्रशिक्षक रहे । वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने ।

सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी-२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो । त्यसपछि उनी भारत फर्किए । भारतमा उनले केरलाको टिमलाई प्रशिक्षण दिए । पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने ।

क्यानले वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनकबहादुर मल्ललाई महाप्रवन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ ।

प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार ०५:२६
हजुरको प्रतिक्रिया