पोखरा
वेगनास तालमा ड्रागन बोट रेस सुरु भएको छ । नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा आइतबारदेखि प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस सुरु भएको हो ।
बोट रेसको उद्घाटन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गरेका हुन् । उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको बताए । खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नु मन्त्री श्रेष्ठले सुनाए ।
प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको आयोजकले जनाएकोक छ । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लेखनाथ पोखरा महानगरमा गाभिएपछि पनि लेखनाथबासीले महानगरको आभास गर्न नपाएको गुनासो गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले यो प्रतियोगिताले पर्यटन प्रवद्र्धन र मोटो स्पोटर्स् विकासमा मद्दत पुग्ने बताए । ‘यस प्रतियोगिताले पर्यटनको राजधानी पोखराको पर्यटन प्रवद्धन तथा माटो स्पोटर्स् विकासमा सहयोग पुग्नेछ भन्नेमा हामीले विश्वास लिएका छौं,’ उनले भने ।
पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटक प्रवद्र्धन गर्न रेस सञ्चालन गर्न लागिएको होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताए ।प्रतियोगितामा पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल हुने छन् ।
दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसियसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार जितेका छन् । पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने छन् । यो खेल सोमबार हुनेछ ।
चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको ढुंगा दौड हो । १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ । पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो । रेसमा सहभागी हुन विमान चार्टड गरी एक सय २० सदस्यीय टोली चीनबाट पोखरा आएको थियो ।
प्रकाशित मिति २०८० चैत ११ गते आइतबार ०६:५७




