अधिकांश सदस्यसहित पदाधिकारीमा खगराज समूहको क्लिनस्वीप
पोखरा
गण्डकी प्रदेशमा पदाधिकारीमा क्लिनस्वीप गर्दै अधिकांश सदस्य पनि जितेको एमाले उपमहासचिव पृथ्वीसुब्बा समूहलाई कास्कीमा भने स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहले उसैगरी जित निकालेको छ ।
गण्डकीमा जस्तै कास्कीमा पनि पृथ्वीसुब्बा र खगराज समूह प्यानलै बनाएर प्रतिस्पर्धामा होमिएका थिए । खगराज समूहले गृहजिल्ला कास्कीमा भने पदाधिकारीमा क्लिनस्वीप गर्दै अधिकांश सदस्यसमेत जित हात पारेको हो ।
चैत १० गतेबाट सुरु भएको एमाले कास्कीको अधिवेशनमा पृथ्वीसुब्बा समूहबाट माधव बास्तोला र खगराज समूहबाट बैनबहादुर अधिकारी क्षेत्रीको प्यानलै चुनावमा होमिएको थियोे । अध्यक्षमा खगराज समूहका बैनबहादुरले २ सय ४ मतान्तरले जित निकालेका हुन् ।
बैनबहादुरले ५ सय ५१ मत ल्याउँदा बास्तोलाले ३४७ मत पाएका छन् । कुनै पनि गुटमा सामेल नभइ उम्मेदवारी दिएका विवेक त्रीपाठीले १७ मत प्राप्त गरेका छन् ।
५ सय २७ मत ल्याउँदैै उपाध्यक्षमा भेषराज बराल विजयी भएका छन् । उनका प्रतिस्पर्धी पृथ्वीसुब्बा समूहका शिव आचार्यले ३ सय ८८ मत ल्याएका थिए ।
सचिवमा लोकप्रिय मत ल्याउँदै खगराज समूहका दर्शन लामा विजयी भएका छन् । लामाले ५९७ मत ल्याउँदा पृथ्वीसुब्बा समूहका सुरेन्द्र गुरुङले ३ सय २० मत प्राप्त गरेका हुन् ।
उपसचिवमा ५ सय ८१ मत ल्याउँदै लालबहादुर परियार र ५ सय १० मत ल्याउँदै सन्तु सुवेदी विजयी भए । पृथ्वीसुब्बा समूहबाट उपसचिवमा राधिका शाही योगीले ३ सय ४४ र सीता परियारले ३ सय ३४ मत प्राप्त गरेकी थिइन् ।
प्रकाशित मिति २०८० चैत १४ गते बुधबार ०७:५९




