पोखरा
हेमजामा १२ औं संस्करणको आलु महोत्सव हुने भएको छ । चैत २५ देखि बैशाख ५ गतेसम्म आलु गाउँको परिचय बनाएको पोखरा महानगरपालिका–२५ हेम्जामा राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको हो ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ आलु महोत्सव हुँदैछ ।
आयोजक विष्णुपादुका क्लब हेम्जाले शनिबार पत्रकार सम्मेलन गर्दै हेमजामा उत्पादन भएका आलु र ताजा तरकारीका वृहत प्रदर्शनसँगै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागेको जनाएको छ ।
हेम्जाको मुख्य कृषि उत्पादन आलु, काउली, गोलभेंडा, च्याऊ, धान, बन्दा रहेको छ । स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरेको क्लबका अध्यक्ष सुदीप श्रेष्ठले बताए ।
महोत्सवमा आलुको विशाल पहाड बनाइनेछ । ताजा तरकारी, आलुका विभिन्न परिकार र विभिन्न कृषि उपज, विउविजन तथा कृषि यन्त्रको प्रदर्शनी गरिने श्रेष्ठको भनाइ छ ।
हेम्जाको १२ हजार पाँच सय हेक्टरमध्ये ५५० हेक्टरमा आलुखेती हुँदै आएको छ । हेम्जाका १ हजार २२ परिवार कृषि पेशामा आधारित छन् ।
प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०७:३३




