तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिकाका शिक्षकलाई अपाङ्गताको अवधारणा, उनीहरूका समस्या र सामाजिक दायित्वबारे अभिमुखीकरण गरिएको छ । शुक्लागण्डकी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई अभिमुखीकरण गरिएको हो ।
पेन्तिकोस पैरवी समाजको आयोजना, सामाजिक विकास कार्यालय दमौलीको आर्थिक सहयोगमा शनिबार दुलेगौंडामा माध्यमिक तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकलाई अभिमुखीकरण गराइएको छ ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले अपाङ्गता भएका बालबालिकाको अधिकार स्थापित गर्न शिक्षकको महत्वपूर्ण भुमिका रहने बताए ।
अपाङ्गता अधिकारकर्मी सुर्यप्रसाद भट्टराईले अपाङ्गताको भएका व्यक्तिको पहिचान गरि जटिलता र गाम्भिर्यताका आधारमा उनीहरूको आवश्यकता पूरा गर्न सघाउनु सामाजिक दायित्व भएको सुनाए ।
अपाङ्गता समन्वय समिति शुक्लागण्डकीका सदस्य दामोदर रेग्मीले अपाङ्गता भएका बालबालिकालाई पुर्णतया निशुल्क शिक्षाको व्यवस्था गर्न विद्याहरूलाई सचेत गराए । सरकारले अपाङ्गता भएका बालबालिकाकाको अवस्था हेरी १ हजार देखि ४० हजार रूपैयाँ सम्मको छात्रवृत्ति सुनिश्चित गरेको जानकारी दिदैं रेग्मीले राज्यले प्रदान गरेको सेवा सुविधा उपलब्ध गराउन शिक्षक तथा विद्यालयले सरकारात्मक सहजीकरण गरिदिनुपर्ने आवश्यकता औल्याए ।
मस्तिष्क पक्षघात स्वाबलम्बन समूह तनहुँका संयोजक बिष्णु गौतमले अपाङ्गता भएका बालबालिकाका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्नुपर्ने बताए । शुक्लागण्डकी नगरपालिकाका सामाजिक शाखा प्रमुख युवराज पौडेलले विद्यालयहरूको भौतिक र शैक्षिक वातावरण अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिए ।
पेन्तिकोष पैरवी समाज तनहुँका अध्यक्ष छिम बहादुर गुरूङले अपाङ्गता भएका बालबालिकाको शैक्षिक विकासका लागि शिक्षकहरूमा जागरण ल्याउने उदेश्यले कार्यक्रम गरिएको जानकारी दिए ।
प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०८:२१




