कांग्रेस नेतृत्वका प्रदेश सरकारलाई भने समर्थन गर्ने राप्रपाकाे संकेत
पोखरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित संघमा बनेको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
धुम्बाराहीमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले संघीय सरकार बनाएको गठबन्धनलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले नेपाली कांग्रेस नेतृत्वका प्रदेश सरकारलाई भने समर्थन गर्ने संकेत गरेको छ । प्रदेशहरूमा एमाले–माओवादी गठबन्धनलाई सहयोग नगर्ने तर कांग्रेस नेतृत्वका सरकारलाई समर्थन चाहिए सहयोग गरेर सरकारमा जाने श्रेष्ठले बताए ।
एमाले–माओवादीको गठबन्धनलाई साथ नदिने तर बाहेकको दललाई समर्थन गर्ने राप्रपाको निर्णयले बुधबारमात्र राजीनामा दिएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आशा व्यक्त गरेका छन् ।
२७ प्रदेश सभा सदस्य रहेको कांग्रेसले २ जना राप्रपा हुँदा पनि सरकार गठनका लागि पर्याप्त नहुने भए पनि राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाएर ल्याइसकेको छ भने एक जनाबाट फ्लोर क्रस गराउने योजना राखेको छ । कांग्रेसले ३० सांसद जुटाएर माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवपादी पार्टीका फणिन्द्र देवकाटाले फ्लोर क्रस गर्न सक्ने कांग्रेसको भनाइ छ ।
राजीनामा दिँदै राप्रपाबिना गण्डकीमा कसैले पनि सरकार बनाउन नसक्ने र आजैदेखि नयाँ सरकार गठनका लागि आफू पनि लागि पर्ने पाण्डेले बताएका थिए ।
राप्रपाले एमाले–माओवादी गठबन्धनलाई सहयोग नगर्ने बताएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले–माओवादीलाई सकस पर्ने देखिएको छ ।
प्रकाशित मिति २०८० चैत २१ गते बुधबार ०६:३१




