इन्डिकेटरमा समस्या देखिएको भन्दै पोखरा अवतरण
पाेखरा
धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएयरलाइन्सको जहाज पोखरा अवतरण भएपछि यात्रु त्रसित बनेका छन् ।
बिहान ९ बजे उड्नुपर्ने जहाज ढिला गरी १० बजे उडेको थियो तर काठमाडौं नपुगी पोखरा अवतरण भएपछि यात्रु अत्तालिन पुगे ।
श्रीएयरलाइन्स २२२ जहाजमा प्राविधिक समस्या देखिएको भन्दै पोखरामा आपतकालीन अवतरण गरेको हो ।
इन्डिकेटरमा समस्या देखिएको भन्दै पोखरा अवतरण भएको जहाजमा ७६ जना यात्रु रहेको श्रीएयरलाइन्सको पोखरा इन्चार्ज नवदीप केसीले जानकारी दिए ।
ज्हाजमा देखिएको प्राविधिक समस्या इन्जिनियरबाट चेकजाँच भए पनि धनगढी काठमाडौं उडेका यात्रु भने सोही जहाजमा जान मानेनन् ।
उनीहरु जान नमानेपछि पोखराका यात्रुलाई राखेर सो जहाज काठमाडौं गइसकेको केसीले बताए ।
धनगढीबाट पोखरा अवतरण भएका यात्रुलाई लैजानका लागि एयरलाइन्सले अर्को जहाजको व्यवस्था गर्नुपरेको छ ।
यात्रुले भने जहाज आउने–नहाउनेबारे समयमै जानकारी नदिँदा विमानस्थलमै अलपत्र पर्नुपरेको गुनासो गरेका छन् ।
एकसाताअघि पनि धनगढीबाट काठमाडौं उडेको श्रीएयरलाइन्सकै जहाज भैरहवामा आपतकालीन अवतरण भएको थियो ।
प्रकाशित मिति २०८० चैत २३ गते शुक्रबार ०५:०२




