२०८३ साउन २१ गते बिहीबार

६० रनमा अलआउट हुँदै नेपाल ‘ए’ ले गुमायो एकदिवसीय सिरिज

६० रनमा अलआउट हुँदै नेपाल ‘ए’ ले गुमायो एकदिवसीय सिरिज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २३ गते शुक्रबार ०६:३२

यो हारसँगै विनोद भण्डारीको कप्तानमा रहेको नेपाल ‘ए’ तीन खेलको एकदिवसीय श्रृंखलामा पनि २-० ले पछि परेको छ ।

काठमाडाै‌
खराब ब्याटिङ दोहोरिएपछि नेपाल ‘ए’ शुक्रबार पाहुना टोली आयरल्याण्ड ‘ए’ सँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको लज्जापूर्ण हार सामना गरेको छ ।

यो हारसँगै विनोद भण्डारीको कप्तानमा रहेको नेपाल ‘ए’ तीन खेलको एकदिवसीय श्रृंखलामा पनि २-० ले पछि परेको छ । यसअघि नेपाल ‘ए’ ले पाहुना टोलीसँगको तीन खेलको ट्वान्टी-२० श्रृंखला पनि २-१ ले गुमाएको थियो । एकदिवसीयमा लगातार दोस्रो हार व्यहोर्दा नेपालको खराब ब्याटिङ कारण बन्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ ले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा ६० रनमै अलआउट भयो । पाहुना टोलीको बलिङसामु नेपालका कुनैपनि ब्याटर लामो समय टिक्नै सकेनन् ।

भीम सार्कीको १७ रन र विनोद भण्डारीको १६ रन नै नेपालका लागि दोहोरो अंक योगदान रह्यो । नेपालले खाता नखोल्दै ओपनर देव खनाललाई शुन्यमा नै गुमाएको थियो । त्यसपछि नेपाल समालिन नै सकेन । डेब्युटेण्ट नरेन भट्टसहित पाँच ब्याटरले खाता नै खोल्न नसक्दा नेपालको ब्याटिङ धराशायी बन्यो । अनुभवी विनोद भण्डारी, भीम सार्की, आरिफ सेख र नेपालको यु-१९ टोलीका कप्तान देवले पनि बिर्सनलायक ब्याटिङ गरे । आयरल्याण्ड ‘ए’ को बलिङमा म्याथ्युज हम्फ्रेजले ६ विकेट निकाल्दै नेपालको इनिङ धराशायी बनाए ।

उनले ४.५ ओभरमा एक मेडन राख्दै ८ रन मात्र दिए । फियोन हान्ड र थोमस मायसले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ ३८.४ ओभरमा १७४ रनमै अलआउट भयो । पाहुना टोलीको शुरुवात पनि राम्रो हुन सकेन र खातामा ३४ रन जोड्दा पाँच विकेट गुमाउन पुग्यो । तर मध्यम क्रमका ब्याटर तथा कप्तान निल रकले ४५ रन र तल्लो क्रमका गाभिन होइले ५० रनको योगदान गर्दै सय रनको आँकडा पार गराए ।

नेपालका बलर कमलसिंह ऐरीले २१ औं ओभरमा कप्तान निललाई आउट गरे । त्यससँगै पाहुना टोली ९४/७ को नाजुक अवस्था पुग्यो । तर नवौं नम्बरका ब्याटर लियाम म्याकर्थीले ३५ रन जोड्दै आयरल्याण्ड ‘ए’ को इनिङ ढेड सयको आँकडा पार गराएका हुन् । नेपालका बलरले शुरुवातदेखि दबाबमा राखे । रिजन ढकाल र साहब आलमले समान तीन विकेट निकाल्दा मौसम ढकालले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए । अब तेस्रो खेल आगामी आईतवार हुनेछ ।

प्रकाशित मिति २०८० चैत २३ गते शुक्रबार ०६:३२
हजुरको प्रतिक्रिया