२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश

गण्डकीमा सत्ता सकसः विभिन्न विकल्पमा गठबन्धनको छलफल

गण्डकीमा सत्ता सकसः विभिन्न विकल्पमा गठबन्धनको छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २४ गते शनिबार ०८:००

बैठकमा सरकार गठन गर्न विभिन्न कोणबाट छलफल गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

मनाङेलाई फकाउने, राप्रपालाई मनाउनेदेखि सभामुखको राजीनामासम्मको चर्चा

पाेखरा ।
गण्डकीमा सत्ता गठन सकसपूर्ण बनेको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ गते ३ बजेसम्मका लागि सरकार गठनका लागि दाबी पेश गर्न समय दिएका छन् । चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार गठनका लागि दाबी दिन आह्वान गरेका हुन् ।

सरकार गठनकै विषयलाई लिएर शनिबार एमाले र माओवादी संसदीय दलको संयुक्त बैठक बसेको छ । बैठकमा सरकार गठन गर्न विभिन्न कोणबाट छलफल गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

राप्रपालाई गठबन्धनमा ल्याउने र मनाङबाट स्वतन्त्र चुनाव जितेका एकीकृत समाजवादीका सांसद राजीव गुरुङलाई पनि फर्काएर सरकार गठन गर्न दाबी पेश गर्ने पहिलो विकल्पका रुपमा छलफल गरिएको एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए । कांग्रेसबाहेक मनाङे र राप्रपालाई सहजीकरण गर्ने जिम्मा दुई दलका नेता खगराज अधिकारी र हरिबहादुरले जिम्मा लिएको नेपालीको भनाइ थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका मनाङेसँग छलफलसमेत भइरहेको उनीहरुले बताएका छन् । राप्रपाको २७ गते नैै प्रदर्शनसहितको सभा भएकाले समिटिने अवस्था नरहे मनाङेलाई साथमा लिएर एमाले र माओवादीको दलको तर्फबाट दाबी पेश गर्ने अर्कोे विकल्प नेताहरुले देखेका छन् । गण्डकीमा एमालेका २२ र माओेवादीका सभामुखसहित ८ सांसद छन् । मनाङे र दलका तर्फबाट सभामुखसहित ३० जनाको नाम पठाउने गठबन्धनको अर्को रणनीति छ ।

निर्वाचन आयोेगले गण्डकीमा एमालेका २२ र माओवादीका ८ सांसदकै विवरणरहेकाले त्यसैअनुसार दाबी गर्ने उनीहरुले बताए । दलको तर्फबाट पत्र पठाउँदा प्रदेश प्रमुखले सनाखत गर्न आवश्यक नहुने चुमानको दाबी छ । प्रदेश प्रमुखले सनाखत गर्ने भए सभामुखको राजीनामा गराएर मनाङेसहित बहुमतका लागि ३१ जना सांसदको हस्ताक्षर बुझाएर दाबी पेश गर्ने गठबन्धनको अन्तिम विकल्पबारे चर्चा भएको थियो ।

कांग्रेसले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने स्थिति नदेखिएकाले ठूलो दलका हिसाबले फेरि मुख्यमन्त्री नियुक्त हुने योजना बुनेको छ ।

प्रकाशित मिति २०८० चैत २४ गते शनिबार ०८:००
हजुरको प्रतिक्रिया