६ वर्षमा पाँच पटक मन्त्री भएर मनाङेको रेकर्ड
पाेखरा
अस्थिर राजनीतिमा चतुर खेलाडी बन्दै राजीव गुरुङ (दीपक मनाङे) २० दिनको अन्तरालमै दोस्रोपटक मन्त्री बन्न सफल भएका छन् ।
सरकार अल्पमतमा परिसकेपछि एमाले–माओवादीको बहुमत पुग्ना नदिने रणनीतिका साथ गत चैत ५ गते मनाङेलाई कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधारजस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
त्यसको ठिक २० दिनपछि एमाले–माओवादीको तर्फबाट खगराज अधिकारीलाई मुख्यमन्त्री गर्न दाबी पेश गर्न समर्थन दिएर मनाङे फेरि मन्त्री हुन सफल भएका छन् ।
पाण्डेले मनाङेलाई मन्त्री बनाएर रोक्ने कोसिस गरे पनि एमाले–माओावादीका नेताले निरत्तर छलफल गरिरहेकै थिए र मनाङेले ३० जना सांसद पु¥याए आफूले ३१ पुर्याउन वचन दिएका थिए ।
नभन्दै आइतबार एमालेका २२, माओवादीका सभामुखलाईसमेत सामेल गराएर ८ र मनाङेको समर्थनसहित खगराज मुख्यमन्त्री नियुक्त भएर सपथ लिइसकेका छन् ।
सभामुखलाईसमेत सामेल गराएपछि कानुनी उपचारतर्फ जाने मनस्थितिमा कांग्रेस रहिरहेका बेला मनाङेले आइतबार फेरि बुझ्नका लागि मात्र कांग्रेसको सरकारमा गएको प्रतिक्रिया दिएका छन् ।
सपथ ग्रहणपछि मनाङेले गण्डकीमा बल्ल पूर्ण सरकार बनेको उल्लेख गरे । सय प्रतिशत कम्प्युनिष्टको सरकार बन्नु भनेको एकदमै राम्रो भएको मनाङेको दाबी थियो ।
सत्ताको जोड घटाउका बेला निर्णायक बन्दै मनाङेले गण्डकीमा धेरै पटक मन्त्री हुनेको रेकर्ड नै राखेका छन् ।
खगराजको सरकार तलमाथि भयो भने पनि मनाङेले संसद जोगाउनका लागि भन्दै जता ३० पुग्छ, उतै मत दिने आफैंले भनिरहेका छन् ।
सत्ताविपक्षीले विवादास्पद पात्रका रुपमा चित्रण र अभिव्यक्ति दिने गरेको भए पनि सत्ता निर्माणमा भने उनै मनाङे निर्णायक बन्दै आएका छन् ।
गण्डकीको सत्ता संकटमा हरेक पटक ‘जता मनाङे उतै सत्ता, जता सत्ता उतै मनाङे’जस्तो विम्व बन्न पुगेको छ ।
२०७८ वैशाख १६ गते पृथ्वीसुब्बाले पहिलो पटक युवा तथा खेलकुद मन्त्री बनाएर सत्ता टिकाउने प्रयत्न गरेका थिए ।
पृथ्वीसुब्बा २०७८ वैशाख २९ गते ठूलो दलको नेताको हैसियतले फेरि मुख्यमन्त्री बनेपछि दोस्रो पटक खेलकुद मन्त्री नै बनाएका थिए ।
मनाङेले मत दिँदा पृथ्वीसुब्बाको बहुमत नपुग्ने तर कांग्रेस–माओवादीको बहुमत पुग्ने अवस्थामा रातारात मनाङे गठबन्धनतिर लागेका थिए ।
मनाङकै जगमा २०७८ जेठ २९ गते सरकार बनेपछि सोही दिन विना विभागीय मन्त्री भएका थिए ।
प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०८:३३




