पोखरा
नयाँ बर्षको दिनको कास्कीको लेखनाथमा हाफ म्याराथन हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ म्याराथन हुन लागेको हो ।
पुरुषतर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथनसंगै १० किलोमिटरको महिला/ पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार हाफ म्यराथनको उपाधी विजेताले ६० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो, तेस्रो, चौंथो र पाँचौले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउनेछन् ।
१० किलोमिटरको महिला/ पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार जित्नेछन । तेस्रो, चौंथो र पाचौं हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् ।
५ किलोमिटर छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तेस्रोले ५ हजार, चौंथोले ३ हजार र पाँचौंले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
भेट्रान्सतर्फको विजेताले १० हजार रुपैयाँ हात पार्दा उपविजेताले ७ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ जित्नेछन् ।
सबै विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान गरिएको छ ।
भण्डारढिकबाट सुरु भएको हाफ म्याराथनका धावक उत्तरसिंह चोक, भुगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट सातमुहाने बजार फर्कनेछन । खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिकमा आएर दौड पूरा हुनेछ ।
आन्तरिक र बाह्य पर्यटक बढाउन म्याराथन गरेको खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार गोदारले बताए ।
पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले साविकको लेखनाथ क्षेत्रमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको बताए । खेल पूर्वाधारको विकास लागि महानगरसमक्ष पहल गर्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८० चैत २७ गते मंगलबार ०६:०८




