डम्मर बुढा मगर ।
बागलुङ ।
चैते दसैँ सुरु भएसँगै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैते दसैँमा कालिका मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकको संख्यामाउल्लेख्य वृद्धि भएको हो ।
मंगलबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँको अवसरमा बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरु जाने गर्दछन् ।
चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ ।
गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैतेदसैँ सुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उनले जानकारी दिए ।
चैते दसैँका समयमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि नेपालसँगै छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् ।
उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।
चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गते अर्थात् आजदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने गुठी व्यवस्थापन समितिले जनाएको छ ।
उक्त मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ ।
‘गन्तव्य बागलुङ कालिका : कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो ।
मेलाको मुख्य आकर्षणका रुपमा यसपटक खुला राष्ट्रिय लोकदोहरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगिता रहेका समितिका अध्यक्ष खड्काले जानकारी दिए ।
मेलामा स्थानीय कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उहाँले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई निःशुल्क स्टल उपलव्ध गराइएको जानकारी दिए ।
लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रू दुई लाख, र द्वितीयलाई रू एक लाख, तृतीय हुनेलाई रू ५० हजार र उत्कृष्ट स्वर हुने महिला र पुरूष तथा उत्कृष्ट वेषभूषा महिला र पुरूषलाई रू पाँच-पाँच हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ऐतिहासिक चैते दसैँको दोस्रो आकर्षणका रुपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
गुठी व्यवस्थापन समितिको आयोजनामा रू तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रतियोगितामा द्वितीय हुनेले रू एक लाख ५० हजार र तृतीय हुनेले रू एक लाख पाउने छन् ।
प्रकाशित मिति २०८० चैत ३० गते शुक्रबार ११:१७




